काठमाडौं, १३ जेठ । मुख्य न्यायाधिवक्ताहरुको राष्ट्रिय सम्मेलन आज पनि कैलालीको धनगढीमा जारी छ । हिजोबाट शुरु भएको दुईदिने सम्मेलनमा नेपाल सरकारका मुख्यन्यायाधिवक्ता, प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताहरु, वरिष्ठ अधिवक्ताहरु सहभागी हुनुहुन्छ । संविधान संशोधन र संविधानका अधिकार सूचीलगायत विषयमा कार्यपत्र पेशगरी छलफल बहसगर्न लागिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मेलनको उद्घाटनगर्दै बनेका ऐन, कानूनको आआफ्नो ढंगले व्याख्यागर्ने प्रवृत्तिले देखिने जटिलता र अन्योलता हटाउनेगरी सम्मेलनमा बहस हुनुपर्ने बताउनुभएको थियो । उहाँले ऐन कानून बनाउने, त्यसलाई कार्यान्वयनमा लैजाने र कार्यान्वयनमा जाँदा प्रभावित हुनेहरु गरी तीन तहबीच बेलाबखत देखिने गरेका अन्योलता र जटिलता हटाउनका लागि पहलगर्न जरुरी छ भन्नुभएको थियो ।

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले राज्यका संरचनालाई बलियो र प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको थियो । कार्यक्रममा नायब महान्यायाधिवक्ता उद्धव पुडासैन, सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशी, पूर्वमुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, वरिष्ठ अधिवक्ता पदमराज शर्मा, भेषबहादुर गुरुङलगायत वक्ताले सम्मेलनकाबारेमा धारणा व्यक्त गर्नुभएको थियो ।