
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओलीले कम्युनिष्टहरुले राजनीतिक क्रान्तिकासाथै सांस्कृतिक क्रान्तिलाई पनि साथसाथै अगाडि बढाउनुपर्ने बताउनु भएको छ । उहाँले त्यसरी अघि बढाइएनभने कम्युनिष्ट समाज नै नबन्ने र क्रान्ति सम्पन्न भएपनि प्रतिक्रान्ति हुने दाबि गर्नुभएको छ । रामेछापको रामेछाप नगरपालिका–५ चारघरे भञ्ज्याङ स्थित जनता माद्यमिक विद्यालयको सभा हलमा पार्टीका केस झनक श्रेष्ठका बुबा लालकृष्ण श्रेष्ठको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्ने क्रममा प्रवक्ता सुदर्शनले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
सो पार्टीका रामेछाप नगर समितिका संयोजक सुजन क्याप्छाकी मगरको अध्यक्षता र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समिति सदस्य तथा ९ नं. क्षेत्रीय ब्युरो कार्यालय सचिव झनक श्रेष्ठको उद्घोषणमा झनक श्रेष्ठका बुवा लालकृष्ण श्रेष्ठको दोश्रो स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै प्रवक्ता सुदर्शनले पुराना शासक पार्टीहरुको भ्रष्टाचार र कुशासनका कारण जनताले वाक्क भएर रोजेको विकल्प झन बढी साम्राज्यवादका दलाल भएको अहिले उसले फासिवादी उन्मादमा सुकुम्बासीहरुको बस्तीमाथि डोजर लगाएर अमानवीय क्रूरता प्रदर्शन गरेको बताउनु भएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका राजनीतिक परिषद सदस्य अम्बिका चन्द ओली, समाजवादी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव अशोक सुवेदी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य रेखबहादुर मगर, वडा जनप्रतिनिधि दिलीप सुनार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मृतक परिवारका सदस्यहरु मान श्रेष्ठ, प्रेम श्रेष्ठ, निर्मला, योगमाया, मुना, सविता, खुषीन्द्र, सुन्तली रीता, जानकी, पृथ्वी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।