काठमाडौं,१७ जेठ । राजावादी भनिएको पार्टी राप्रपा बिभाजनको संघारमा पुगेको छभने पार्टी नफुटाउन तीन पूर्व अध्यक्षहरुको संयुक्त अपिल गर्नुभएको छ । प्राप्त समाचारअनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको एकलौटी कार्यशैली र बैचारिक विचलनप्रति तीव्र असन्तुष्टि जनाउँदै महामन्त्री डा. धवलशम्शेर राणा नेतृत्वको संस्थापन इतर समूहले भोली राप्रपा बिभाजन भएको घोषणा गर्न लागेको हो । राणा समूहले भोली जेठ १८ गते काठमाडौंको होटल यलो प्यागोडामा पत्रकार सम्मेलनगरी नयाँ पार्टीको घोषणागर्ने कार्यक्रम छ । राणा समूहकाअनुसार हालसम्म ५० देखि ६० जना केन्द्रीय सदस्यहरु सामूहिक राजीनामाका लागि पूर्णरुपमा तयार भइसकेका छन् ।
राप्रपा त्याग्नलागेका प्रमुख नेताहरुमा मुकुन्दश्याम गिरी, सगुन लावती र नारायण कोइराला लगायत रहेको बताइन्छ । डा. राणाले केही समयदेखि राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग सघनरुपमा छलफल थाल्नुभएको छ । प्रसाइँ र राणाबीच नयाँ राजनीतिक दल दर्तागर्ने र संयुक्तरुपमा नयाँ राजनीतिक यात्राको घोषणागर्ने सहमति भएको बताइन्छ । यसैबीच राप्रपाका तीनजना पूर्व अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले वर्तमान अवस्थाबाट विचलित भएर पार्टी छाड्ने वा पलायन हुनेजस्ता आत्मघाती कदम नचाल्न नेता तथा कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ ।
संयुक्त वक्तव्य जारीगर्दै पूर्व अध्यक्षहरुले जस्तोसुकै कठीन र प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तप्रति निष्ठावान् रहँदै अघिबढ्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको हो । बहुदलीय प्रजातन्त्र पुनःस्थापनापश्चात् देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति स्थापनागर्ने उद्देश्यकासाथ ०४७ जेठ १५ गते राप्रपाको उदय भएको स्मरणगर्दै पूर्व अध्यक्षत्रयले मुलुकको वर्तमान संकटबाट मुक्तिका निम्ति पार्टीलाई अझ सशक्त ढंगले संगठितगर्न आफूहरु सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विज्ञप्तिमा पार्टी एकतालाई सुदृढगर्दै सशक्त कार्ययोजनाका साथ अघिबढ्न सक्यौँ भने छोटो अवधिमै अप्रत्याशित सफलता हाशिलगर्न सक्छौँ र हिन्दूराष्ट्र एवं राजसंस्थाको पुनःस्थापनागर्न सक्छौँ भनिएको छ ।