काठमाडौं,१७ जेठ । एमालेले २० र २१ गते सदस्यता अभियान सञ्चालन गर्ने भएको छ । सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि काठमाडौंमा राष्ट्रिय कार्यशाला तयगरिएको बताइएको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलसमा पार्टीका महासचिव शंकर पोखरेलको आतिथ्यतामा हिजो सम्पन्न केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गरेको हो ।

कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्षसाथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरुको सहभागिता रहने एमाले केन्द्रीय संगठन विभागको बैठकले तय गरेको एमाले सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो । सचिव ढकालकाअनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्णरुपमा डिजिटल माध्यममा रुपान्तरणगर्ने तयारी गरेको छ ।