
काठमाडौं,१७ जेठ । कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध बनाउनुपर्ने अवस्था रहेको बताउन थालिएको छ । यसैक्रममा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलाको हिजो द्घाटनगर्दै उहाँले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको बताउनुभएको थियो ।
सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पक्षबारे समीक्षागर्दै सैद्धान्तिक मतभेद, व्यक्तिगत टकराव र सत्ता समीकरणका कारण बेलाबेलामा कम्युनिष्ट घटकहरुबीच विभाजन आउनेगरेको उल्लेख गर्नुभयो। उहाँले देश र जनताको हितमा कामगर्न विगतका टुटफुटबाट पाठ सिक्दै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । सहसंयोजक नेपालले पार्टीको एकता महाधिवेशनअगावै वडादेखि प्रदेशसम्म तोकिएको समयमा सबै जनवर्गीय संगठनलाई भेला तथा अधिवेशन सम्पन्नगर्न निर्देशनसमेत दिनुभएको थियो ।