हनोई, १७ जेठ । भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब १० हजार कैदीलाई रिहागर्ने घोषणा गरेको छ । भियतनामले प्रायः विशेष कार्यक्रम वा उत्सवहरु अघि आममाफीको घोषणा गर्दछ । साइगोनको पतनको ५० औँ वर्षगाँठ र स्वतन्त्रताको घोषणाको ८० वर्ष पूराभएको अवसरमा गत वर्ष २२ हजारभन्दा बढी कैदीलाई रिहा गरिएको थियो । भियतनामका महासचिव तथा राष्ट्रपति तो लामद्वारा हस्ताक्षरित दस्तावेजमा यस वर्षको आममाफीको एक हिस्साकारुपमा जुन महिनाको शुरुमा नौहजार ९५० जना बन्दीलाई रिहागरिने उल्लेख छ । सार्वजनिक सुरक्षा उपमन्त्री ले भान तुयेनले एक पत्रकार सम्मेलनमा यो आममाफीले भियतनामको कम्युनिष्ट पार्टीको पाँच बर्षे महाधिवेशन र राष्ट्रिय सभाको चुनावको सफलताको लागि सहज वातावरण निर्माण गर्नेछ भन्नुभयो ।
भियतनामले मार्चमा राष्ट्रिय सभाको लागि निर्वाचन गरेको थियो यसको शीर्ष विधायिकाले मुख्यरुपमा सत्तारुढ कम्युनिष्ट पार्टीको निर्णयहरु अनुमोदन गर्दछ । अर्को महिना रिहा हुने बन्दीमा ५६ पुरुष र सात महिला सहित ६३ जना विदेशी नागरिक रहेको तुयेनले बताउनुभयो तर उनीहरु कुन देशका नागरिक हुन् भन्नेबारे उहाँले केही बताउनुभएन । भियतनामी कानूनअनुसार सरकार अपदस्थगर्ने प्रयास वा आतंकवादको लागि दोषी ठहरिएका कैदीहरु रिहाइका लागि योग्य छैनन् ।
भियतनामले रिहाइको मिति तय हुनुअघि नै करिब एक लाख १८ हजार कैँदीलाई रिहा गरेको छ । सार्वजनिक सुरक्षा मन्त्रालयले विगतका रिपोर्टहरुमा भियतनाममा एक लाख ९० हजारभन्दा बढी व्यक्तिले कैदीका रुपमा सजाय भोगिरहेका छन् भनेको थियो । रासस, एएफपी