काठमाडौं,१७ जेठ । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक सहजीकरणको माग गर्नुभएको छ । नेपाल जग्गा तथा आवास विकास संघको १९ औँ वार्षिक साधारणसभाका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले घरजग्गा क्षेत्रका विद्यमान चुनौती र सरकारले चाल्नुपर्ने नीतिगत कदमबारे ध्यानाकर्षण गराउनुभएको हो । अध्यक्ष कुँवरले सरकारी नीतिको अस्पष्टताका कारण ‘रियल इस्टेट’ व्यवसायी संकटमा परेको र यसले आमनागरिकको आवासमा पहुँचसमेत कठीन बनाएको बताउनुभयो । उहाँले अस्पष्ट नीतिका कारण व्यवसायी आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्, जुन मुलुकको आर्थिक समृद्धिका लागि डरलाग्दो अवस्था हो भन्नुभयो ।
अध्यक्ष कुँवरले व्यवस्थित बस्ती विकासका लागि ‘रियल इस्टेट’ कम्पनीलाई जग्गा हदबन्दी नलाग्ने व्यवस्थागर्न र निर्मित आवास तथा अपार्टमेन्ट बिक्रीमा रहेका कानूनी बाधा हटाउन माग गर्नुभएको थियो । कित्ताकाटमा हाल देखिएको अस्थायी सहजीकरणलाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने, ‘प्लानिङ’ अनुमति प्राप्त कम्पनीलाई नगर विकास समिति सरहको सुविधा दिई ‘ल्याण्ड पुलिङ’ र ‘हाउस पुलिङ’ कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने, एकीकृत सहरी विकास ऐन तथा भूमि संहिता जारी गर्नुपर्ने, मालपोत तथा नापी कार्यालयमा बिद्युतीय प्रणाली लागूगरी पारदर्शिता र छरितो कार्यविधि सुनिश्चित गर्नुपर्ने उहाँको माग थियो ।
अध्यक्ष कुँवरले यी माग व्यवसायीको हितमामात्र नभई राष्ट्रको समग्र सामाजिक–आर्थिक विकासका लागि पनि आश्यक छन् । त्यसैले सुरक्षित, दिगो र समावेशी सहरीकरणमार्फत नेपाललाई आधुनिक बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य हुन आवश्यक छ भन्नुभयो । रासस