काठमाडौं, २५ जेठ । हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको खुलाशा भएको छ । सगरमाथा आरोही संघले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दैगएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ०८५ साललाई नेपाल भ्रमण वर्षकारुपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत भएका छौँ । नेपाल सरकारसमक्ष आफूलाई पर्नगएको समस्याप्रति धारणा सार्वजनिकगर्न सम्पूर्ण आरोहीलाई अनुरोध गर्दछौँ ।
संघले सगरमाथा आधार शिविरभन्दा माथि कार्यरत ओखलढुंगा जिल्ला खिजिदेम्बा–६ स्थायी ठेगाना भएका आरोही दावा शेर्पाको जीवनमा आइपरेको घटनाप्रति आरोही संघसहित सम्पूर्ण आरोहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले आरोही शेर्पाको परिवार स्रोतका अनुसार उद्धार कार्यमा सम्बन्धित ट्रेकिङ कम्पनीले बेवास्ता गरेको, खोजी गर्नुको सट्टा गैरजिम्मेवार अभिव्यक्ति दिएकोलगायत अन्य गुनासा छन् । दोस्रो आधार शिविरमा ‘कुक’का रुपमा कार्यरत आरोहीलाई चौथो आधार शिविरमा जान दबावमा पार्ने कार्य र छ दिनसम्म बेपत्ताहुँदा उहाँको खोजी के–कसरी गरियो भन्ने विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुन जरुरी ठानेका छौँ भनेको छ ।
हिमाली क्षेत्रमा कार्यरत आरोहीको सुरक्षाप्रति संघ सदैव चनाखो रहने भएको जनाउँदै यस किसिमको दुर्घटनाबाट मानवीय जीवनमा परेको असरप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । साथै शेर्पाको परिवारमा संघले ऐक्यबद्धता जनाउँदै संघले भविष्यमा पुनः यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक कानुनको निर्माण गरिदिनका लागि माग सरकारसमक्ष गरेको छ ।