काठमाडौं, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफलगर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । उहाँले आज सोमबार बिहान ९ः०० बजे सिंहदरबारस्थित संसद सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठक आह्वान गर्नुभएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्वगर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई, दुई जनालाई आमन्त्रण गरिएको भनिएको छ । तर कुन कुन दल सहभागि हुँदैछन् भन्ने खुलेको छैन । समसामयिक राजनीतिक विषयमा छलफलगर्ने भनिएपनि खासगरी हालै रास्वपाका सभापति लामिछाने र सो पार्टीका नेता तथा परराष्ट्रमन्त्रि शिशिर खनालले गरेको भारत भ्रमणको बिषयमा छलफल हुने र भारतीय प्रस्तावकाबारेमा सहमति जुटाउन प्रयास हुने सूत्रहरुले उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्नगरी हिजो साँझ स्वदेश फर्कनुभएको थियो । भारतका विदेशमन्त्री डा एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ गत शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको भनिएको छ ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । भनिन्छ भारतीय नेताहरुले नेपालका अन्य दलकोसमेत सहमतिको माग गरेका छन् । अन्तराष्ट्रिय मामिलामा सरकारले सर्बदलीय बैठकको आयोजना गर्नुपर्नेमा सत्तारुढ दलले आयोजना गरेकाले समस्या सुल्झिनेभन्दा बल्झिने संभावना रहेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ ।