काठमाडौं,२५ जेठ । चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि आज उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको छ । राष्ट्रपति सी र उहाँकी पत्नी पेङ लियुआनलाई स्वागतगर्न उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उहाँकी पत्नी री सोल जु आफैँ विमानस्थलमा उपस्थित हुनुभएको थियो ।
सिको उत्तर कोरिया भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेता किमले प्योङयाङस्थित ऐतिहासिक किम इल सुङ स्क्वायरमा राष्ट्रपति सीको सम्मानमा एक अत्यन्तै भव्य स्वागत समारोहको आयोजना समेत गर्नुभएको छ । त्यसक्रममा चिनियाँ राष्ट्रपति सीलाई २१ तोपको सलामी दिनुका साथै सैन्य ब्यान्डले दुवै देशको राष्ट्रिय धुन बजाएर उच्च राजकीय सम्मान प्रकट गरेको थियो । उक्त समारोहमा चिनियाँ राष्ट्रपति सीले नेता किमसँगै कोरियाली जनसेनाको तीनवटै सेवा (जल, थल र वायु) को गार्ड अफ अनरको निरीक्षण पनि गर्नुभएको थियो ।
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि प्योङयाङका सडकहरुमा ठूलो संख्यामा उपस्थित जनताले हातमा चीन र उत्तर कोरियाको झण्डा, रंगीचंगी फूल र बेलुनहरु प्रदर्शन गरेका थिए ।