काठमाडौं, २७ जेठ । आन्तरिक अर्थतन्त्र अझ पनि चुनौतीमै रहेको खुलाशा भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८२÷८३ को १० महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले उपरोक्त रहस्य खोलेको हो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोडको भारी बचतमा रहनु र विदेशी विनिमय सञ्चिति ऐतिहासिक रुपमा बढेर ३७ खर्ब ४ अर्ब ५५ करोड पुगेको छ । यो बचत निर्यातमा आधारित नभई विप्रेषणका कारणले भएको राष्ट्र बैंकको तथ्यांक छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ४१.२ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो । २०८३ वैशाख महिनामा विप्रेषण आप्रवाह २५७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १६५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । यता, वैदेशिक व्यापारमा कुल वस्तु निर्यात १४.२ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब ९६ करोड पुगेको छ भने आयातमा भएको १४.८ प्रतिशतको वृद्धिले कुल व्यापार घाटालाई १४.९ प्रतिशतले बढाएर १४ खर्ब ४३ अर्ब ६८ करोड पु¥याएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७२.७ प्रतिशतले वृद्धि भएको थियो । यसले व्यापार सन्तुलन कायमगर्ने सरकारको राष्ट्रिय रणनीति र निर्यात प्रवद्र्धनका योजनाहरु प्रभावकारी कार्यान्वयनमा प्रश्न उठाएको छ । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १६.१ प्रतिशत र ९.५ प्रतिशतले वृद्धिभएको छभने चीनतर्फको निर्यातमा ४१.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, चाउचाउ, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छभने जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामानलगायतका वस्तुको निर्यात घटेको छ । चालु आब ०८२÷८३ को १० महिनामा कुल वस्तु आयात १४.८ प्रतिशतले वृद्धिभई १६ खर्ब ९२ अर्ब ६४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः १०.६ प्रतिशत, २१.४ प्रतिशत र २०.७ प्रतिशतले वृद्धि भएको छ । १० महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित देखिएको छ । तर, वैशाख महिनाको वार्षिक विन्दुगत मुद्रास्फीति तीव्र गतिमा बढेर ५.०४ प्रतिशत पुगेको छ । विशेषगरी गैरखाद्य तथा सेवा समूहमा भएको ५.२६ प्रतिशतको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवनयापनको लागत द्रुतरुपमा बढाइरहेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.९० प्रतिशत, यातायातको १५.३० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ४.७७ प्रतिशत र कपडा तथा जुत्ता चप्पलको ४.७३ प्रतिशतले बढेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.३५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२९ प्रतिशतले बढेको भनिएको छ ।