काठमाडौं, १ असार । आज नेपाल र चीनबीच बेइजिङमा महत्वपूर्ण वार्ताहुँदै छ । चीनको चारदिने औपचारिक भ्रमणमा त्यसतर्फ जानुभएका परराष्ट्रमन्त्री शिशिर खनाल हिजो बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो । परराष्ट्रमन्त्री खनाल चीनको विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा हिजो बिहान बेइजिङ पुग्नुभएको थियो । उहाँ नेपाली राजदूतावासद्वारा हिजो साँझ आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको दूतावासले जनाएको छ । कार्यक्रममा उहाँले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभएको थियो ।

साथै उहाँले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गर्नुभएको थियो । यसअघि परराष्ट्रमन्त्री खनालले राजदूतावास परिसरमा बिरुवा रोप्नुभएको थियो । उहाँले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिनुभएको थियो । मन्त्री खनालले चीनमा नेपालको हित प्रवद्र्धनगर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदानगर्न राजदूतावासका अधिकारीहरुलाई निर्देशन दिनुभएको थियो ।