काठमाडौं, १ असार । आज जयतु संस्कृतम् दिवस मनाइँदै छ । नेपालको पहिलो बिद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । ००४ सालको असार १ गते तीनधारा पाठशालाका बिद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने मागगर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ । आधुनिक विषय अध्ययनगर्न पाउनुपर्ने मागगर्दै शुरु भएको आन्दोलनपछि जहानियाँ राणा शासनको विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर बिद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि तिनले जहानियाँ राणा शासनको विरोधगर्दै देशभर जागरण फैलाएका थिए । यसले कुनाकन्दराका जनतालाई राणा शासकका विरुद्ध संगठित गरेको थियो ।

देशका विभिन्न भागहुँदै बिद्यार्थीहरु भारतको वनारस पुगे । वनारसमा राणा शासनको अन्त्यगर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवाहरु पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाटगरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक हुनुभएको थियो । त्यसबेला असार १ गते बिद्यार्थीले आन्दोलन शुरुगरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ । आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरुप दिई विधिवत् रुपमा दर्ता गरिएको थियो ।

त्यसै वर्षदेखि संस्थागत रुपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो । यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्वशान्तिको सङ्कल्पले स्वस्तिवाचन गरिने जनाइएको छ । कार्यक्रममा सहभागी हुन जयतु संस्कृतम् संस्थाले संस्कृतका अनुयायीमा आह्वान गरेको छ । माल्यार्पण र स्वस्तिवाचनपछि दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भबाट प्रभातफेरी गरिने र रानीपोखरीस्थित श्री संस्कृत माध्यमिक बिद्यालय (दरबार हाईस्कूल)मा पुगेर औपचारिक कार्यक्रम गरिने जनाइएको छ । यस वर्ष ८०औँ जयतु संस्कृतम् दिवस मनाउन लागिएको जयतु संस्कृतम् संस्थाले जनाएको छ । रासस