लिमा, १ असार । राष्ट्रपतीय निर्वाचनका लागि भएको मतगणनाको आंशिक परिणामले दक्षिणपन्थी प्रतिद्वन्दी केइको फुजिमोरीको सामान्य अग्रता देखाएपछि पेरुका वामपन्थी राष्ट्रपति पदका उम्मेदवार रोबर्टो सान्चेजका सयौँ समर्थकले गत शनिबार लिमामा विरोध प्रदर्शन गरेका छन् । हालै सम्पन्न दोस्रो चरणको मतदानको ९८.५ प्रतिशत मतपत्रहरु गणना गरिसक्दा करिब एक प्रतिशत बिन्दुको अन्तर देखिएको छ । फुजिमोरीले ५०.०५ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने सान्चेजले ४९.९५ प्रतिशत मत प्राप्त गर्नुभएको छ । एक करोड ८० लाखभन्दा बढी मतपत्र गणना हुँदा फुजिमोरी सान्चेजभन्दा १८ हजार ५०० मतले अगाडि हुनुहुन्छ । सान्चेजले शुक्रबार फुजिमोरीलाई राजधानी लिमामा अनियमितता भएको र विदेशबाट मतदान भएको आरोप लगाउँदै पुनः मतगणनाका लागि संयुक्त आवेदन गर्न सुझाव दिनुभएको छ ।

गत शनिबार लिमा शहरमा सान्चेजको समर्थनमा भेला भएको भीडले पेरुबासीको न्याय र सम्मानका लागि, फुजीमोरी कहिल्यै स्वीकार्य हुनेछैनभन्ने नारा लगाउँदै शहरका विभिन्न भागमा प्रदर्शन गरेको छ । उनीहरुले निर्वाचन अदालत, राष्ट्रिय न्यायाधिकरणको मुख्यालय परिसरबाहिर पनि नाराबाजी गरेका थिए । ५७ वर्षीय शिक्षक ड्यानियल सेरोनले एएफपीसँग यहाँ विजेता सान्चेज भएको र हामी यो न्यायालयले लोकप्रिय मत र जनताको इच्छाको सम्मान गरोस् भनेर मागसहित प्रदशैन गरिरहेका छौँ भन्नुभयो । निर्वाचन अधिकारीहरुले निर्वाचन अदालतमा दायर गरिएका विवादित मतपत्रहरु जाँचगर्ने र समस्या समाधानगर्दै मतगणना अन्तिम चरणमा पुगेको बताएका छन् । तर अन्तिम परिणाम अझै दुईहप्तासम्म थाहा हुननसक्ने निर्वाचन प्राधिकरणका प्रमुखले बताउनुभएको छ । धेरै मतदाताहरुले राष्ट्रपतीय चुनावले वर्षौंको राजनीतिक अराजकतामा हटाउने विश्वास गरिएको थियो ।

करिब एक दशकको अवधिमा यहाँ आठ जना राष्ट्रपतिहरु निर्वाचित भएका थिएभने उनीहरुमध्ये अधिकांशले जनअपेक्षा अनुरुप काम नगरी भ्रष्टाचार र बेथितिलाई सम्बोधन गर्न असफल भएपछि विभिन्न अभियोग लगाई पदच्युत गरिएको थियो । यो निर्वाचनबाट निर्वाचित हुन्छ ऊ एक दशकमा नवौं राष्ट्रपति बन्नेछ । यो निर्वाचनले उपराष्ट्रपति तथा सांसदहरुको पनि टुंगो लगाउनेछ । तर कडा प्रतिस्पर्धात्मक परिणामले दक्षिण अमेरिकी राष्ट्र पेरुमा तटीय, अधिक ग्रामीण इलाका र आदिवासी समुदायको बसोबास रहेको देशको दक्षिणको जनसङ्ख्यालाई गम्भीररुपमा विभाजित गरेको देखिन्छ । रासस, एएफपी