काठमाडौं, १ असार । नेपाली भूमिमाथि भारतीय सैनिक हेलिकोप्टरबाट बारम्बार गस्ती भैरहेको छभने नेपालको सरकार बेखबरजस्तो देखिएको छ । प्राप्त समाचारअनुसार गत जेठ २७ गते बुधबार भारतीय सैनिक हेलिकोप्टर एकाएक दार्चुला माथिको आकाशमा उडेको थियो । सीमानामा खटिएको सशस्त्र टोलीले माथिल्लो निकायमा जानकारी गराएपछि दार्चुला प्रशासनले उक्त घटनाको औपचारिक जानकारी जेठ ३१ गतेमात्र बल्ल पाएको बताइन्छ ।
छाङरुस्थित सशस्त्र प्रहरी बल नेपालको ५० नम्बर गुल्मले त्यसबारे दार्चुलाको सदरमुकाम खलंगामा रहेको ४४ नम्बर गण मुख्यालयलाई जानकारी गराएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र सशस्त्र प्रहरी बल मुख्यालयलाई पनि जानकारी गराइउको थियो । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले नेपाली भूमिमाथि भारतीय सैनिक हेलिकोप्टर उडेको फोटो हिजो दिउँसो मात्र पाएको स्थानीय समाचारदाताहरुलाई बताउनुभएको थियो । भारतीय इन्डो–टिबेटन बोर्डर पुलिस (आइटीबीपी) का महानिर्देशक शत्रुजितसिंह कपुरले भारतीय सैनिक ब्यारेक रहेको स्थान गुञ्जी जानेक्रममा सैन्य हेलिकोप्टर प्रयोग गरेको सूत्रहरुले उल्लेख गरेका छन् ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी धामीले अनुमति बिना नेपाली आकाशमा भारतीय सैन्य हेलिकोप्टर उडेको विषयमा भारतीय प्रशासनसँग जवाफ माग्ने प्रक्रिया थालिएको बताउनुभएको छ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते संसदको रोष्ट्रममा उभिएर ‘नेपालले पनि भारतको धेरै जमिन मिचेको’ बताएपछि भारतीय हस्तक्षेप एकाएक बढेर गएको छ । नेपाली भूमिमाथि भारतीय सैन्य हेलिकोप्टर उडेको देखेपछि स्थानीयवासीले तत्काल विरोध जनाएका थिए । तर त्यसको हालसम्म कुनै सुनुवाई हुन सकेको छैन ।