
काठमाडौं, २७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुले अवरोध जारी राख्ने भएका छन् । हिजो बसेको नेकां लगायतका प्रतिपक्षी दलहरुको बैठकले उपरोक्त निर्णय गरेको हो । हिजोको बैठकमा विनियोजन विधेयक र त्यससँग आश्रित विभिन्न विधेयहरुमाथिको छलफलगर्ने नियमित कार्यसूची रहेको थियो । बैठक शुरु भएलगत्तै विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद क्षितिज थेबे, नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका सांसद निस्कल राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओली र श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईलाई क्रमशः बोल्ने समय दिनुभएको थियो ।
सोहीक्रममा कांग्रेसका सांसद निस्कल राईले लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि सहादत प्राप्तगर्ने शहीददेखि जेनजी आन्दोलनका क्रममा सहादत प्राप्तगर्ने शहीदको सम्मानमा पाँच मिनेट मौनधारणगर्न आग्रह गर्नुभएको थियो । उहाँले अमर शहीदहरु, प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति तथा आन्दोलनका शहीदहरु तथा सुशासन र जवाफदेहिताका लागि भएको जेनजी विद्रोहका शहीदहरुप्रति सम्मान प्रकटगर्दै हामी नेपाली कांग्रेसका सदस्यहरु पाँच मिनेट यहाँ उभिएर मौनधारण गर्नेछौँ भन्नुभएको थियो । उहाँको सो आग्रहलगत्तै नेपाली कांग्रेसका सबै सांसदहरु उभिनुभएको थियो ।
त्यसलगत्तै प्रतिपक्षी दलका सबै सांसदहरुले समर्थन जनाउँदै मौनधारण गर्नुभयो । सभामुख डोलप्रसाद अर्याललेभने सो घटनालाई सभामाथिको अपमानकारुपमा टिप्पणी गर्नुभएको थियो । प्रतिनिधिसभाको बैठक सभामुखले सञ्चालनगर्ने स्पष्ट पार्दै उहाँले बैठकमा सदस्य स्वयंले समय तोकेर मौनधारणा गर्नु र गराउने अभ्यास गलत भएको धारणा राख्नुभएको थियो । कसैगरी बैठक स१चालन हुन नसकेपछि उहाँले बैठक आजसम्मका लागि स्थगित गर्नुभएको थियो ।