काठमाडौं, २७ जेठ । एमालेका अध्यक्ष केपी ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एकताबद्ध भएर जनतामाझ जान निर्देशन दिनुभएको छ । सो पार्टी उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधनगर्दै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्नुभएको थियो । पार्टीलाई अझ संगठित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन उहाँको अपिल छ । बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभएको छो ।

समीक्षा तथा पुनःगठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालनगर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभएको छ । उहाँले बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव संकलन तथा छलफल कार्यक्रम सञ्चालनगर्ने भएको बताउनुभएको छ । उहाँका अनुसार राजधानीसहित आठ प्रदेश कमिटी, जनसंगठन, सम्पर्क समन्वय र विभाग प्रमुख तथा निकायका पदाधिकारीसँग संगठन सुदृढीकरण र पार्टीको भावी कार्यदिशा बनाउन सुझाव संकलनगर्न थालिएको हो ।

प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरुको सहभागिता रहनेछ । कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इञ्चार्जलेगर्ने निर्णय गरिएको छ । बैठकले कार्यदलको सदस्य–सचिवको जिम्मेवारी शंकर पोखरेललाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिनुभएको छ । बैठकमा पार्टी अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याललगायत रहनुभएको थियो ।