काठमाडौं,२८ जेठ । ट्रेड यूनियन खारेजगर्ने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा भोली २९ गते सुनुवाइ हुने जनाएको छ । प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरु डा नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएपनि हिजो समय नभ्याएपछि हेर्दाहेर्दैमा भोली २९ गते सुनुवाइ हुने तयभएको हो । यसअघि यही जेठ २० गते सुनुवाइ शुरुगरी हिजोका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

गत वैशाख २८ गते तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र शारंगा सुवेदीको संवैधानिक इजलासमा सुनुवाइगर्दै रायबाझी आदेशगरेको थियो । तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयालले सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकानीन अन्तरिम आदेश गर्नुभएको थियोभने न्यायाधीशहरु विनोद शर्मा र शारंगा सुवेदीले भने फरक मत राख्दै अपुरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाउनुभएको छ । अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेशगर्न भनेको थियो ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिकातर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहालसमेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड यूनियन खारेजगर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्नुभएको थियो ।