
काठमाडौं,२८ जेठ । सत्तारुढ रास्वपामा नेता तथा कार्यकर्ताहरुका बीचमा बिभिन्न किसिमका बिवादहरु चर्किदै गएपछि आगामी असारमा हुने महाधिवेशन नै स्थगित हुने संभावना रहेको बताउन थालिएको छ । सो पार्टीले बागमती र मधेस प्रदेशसहित १३ जिल्लामा जारी अधिवेशन स्थगित गरेको छ । अधिवेशनकाक्रममा विभिन्न विवाद देखिएपछि ती स्थानमा निर्वाचन तथा नेतृत्व चयन प्रक्रिया रोकिएको हो । केन्द्रीय निर्वाचन आयोगले व्यवस्थापकीय समस्या देखाए पनि कतिपय जिल्लामा उम्मेदवार विवाद र संगठनात्मक असन्तुष्टि रहेको नेताहरुको दाबी छ । बागमती प्रदेशको सभापतिका लागि अच्युतम लामिछाने (नुवाकोट), उत्सव अर्याल (मकवानपुर), हरिबहादुर खत्री (रामेछाप) र कृष्णमान शाक्य (धादिङ) प्रतिस्पर्धामा छन् ।
यसैगरी रास्वपाले आज जेठ २८ गतेका लागि तयगरेको मधेश प्रदेश अधिवेशन पनि स्थगित भएको जनाएको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा अधिवेशन सम्पन्न भएको छ। मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका सबै जिल्लाको अधिवेशन सम्पन्न हुन सकेको छैन। वडा र पालिकाको अधिवेशन सम्पन्न गरेको रास्वपाको ६४ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । मधेस प्रदेशका ८ जिल्लामध्ये पर्साबाहेक अन्य जिल्लामा नेतृत्व चयन प्रक्रियामा विवाद भएको छ ।
मधेसका महोत्तरी, रौतहट, सिरहा, धनुषा, सर्लाही, सप्तरी र बारा जिल्लाको अधिवेशन स्थगित भएको छ । जिल्ला अधिवेशन नै हुन नसकेपछि मधेस प्रदेशको अधिवेशन पनि स्थगित भएको हो। गण्डकी प्रदेशको मनाङ र मुस्ताङ तथा कर्णाली प्रदेशको हुम्ला, मुगु र डोल्पा जिल्लाको अधिवेशन हुनसकेको छैन । त्यस्तै बागमतीको सिन्धुपाल्चोक जिल्लाको अधिवेशन पनि स्थगित भएको छ । पहिलो महाधिवेशनको तयारीमा रहेको रास्वपालाई नेता÷कार्यकर्ता व्यवस्थापनमा समस्या भएको छ ।