
काठमाडौं,२८ जेठ । बिभिन्न कम्युनिष्ट पार्टी सम्बद्ध किसान संगठनहरुले हिजो काठमाडौंमा सुकुम्बासी र अव्यवस्थित बसोबासीबारे अन्तरक्रिया गरेका छन् । अनामनगरस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सो कार्यक्रम भएको हो । अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको सञ्चालन तथा अखिल नेपाल प्रगतिशील किसान संघका महासचिव राजन साह तेलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई क्रान्तिकारी किसान महासंघका महासचिव धनेश्वर पोखरेलले स्वागत गर्नुभएको थियो । कार्यक्रमको पूर्वाद्र्धमा क्रान्तिकारी किसान महासंघकै अध्यक्ष सीताराम तामाङले सुकम्वासी तथा अव्यवस्थित बसोबासीमाथि राज्यको दमननीति र न्यायपूर्ण निकास शीर्षकको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारले आफ्नो वर्गीय चरित्रअनुसारनै सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि दमन चलाएको धारणा राख्नुभएको थियो ।
गृहमन्त्रीमा पुनः सुधन गुरुङको नियुक्तिले वालेन्द्र सरकारको आगामी शासन कस्तो हुन्छभन्ने संकेत मिलिसकेको उहाँको भनाइ थियो । मन्तव्यको क्रममा उहाँले सुकुम्वासी, अव्यवस्थित बसोबासीसहित देशमा सम्पूर्ण गरिब, किसान मजदुरले संघर्षका लागि तयार हुनुपर्ने बताउनुभएको थियो । अर्थविद् डा. डिल्लीराज खनालले सुकुम्वासी समस्यालाई आधारभूतरुपमा नै समाधान गर्नेतर्फ अहिलेसम्म सत्तामा पुगेका राजनीतिक दलहरुले ध्यान नदिएको बताउनुभएको थियो । सुकुम्वासी र अव्यवस्थित बसोबासी विपन्न वर्गभित्र पर्ने बताउँदै उहाँले नेपालमा आयमाथि आधारित गरिबी ४० प्रतिशतभन्दा बढी भएकाले यसबारे राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राख्नुभएको थियो ।
अखिल नेपाल किसान महासंघका संयोजक बलदेव चौधरीले संविधानमा जनता सार्वभौमसत्ताको मालिक हुन् भन्ने लिपिबद्ध भएकाले आवास जनताको मौलिक हक रहेको सरकारले हेक्का राख्नुपर्ने बताउनुभएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव सीपी गजुरेलले सम्बोधनगर्दै कम्युनिष्ट पार्टीको नीतिअनुसार नै कार्यक्रमको अवधारणापत्र आएको बताउनुभयो । देशका थुप्रै कम्युनिष्ट तथा वामपन्थी पार्टीहरु हुँदाहुँदै पनि सुकुम्वासी समस्या गम्भीर रहनु चिन्ताको विषय भएको उहाँको भनाइ थियो । सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमाथि यतिका ज्यादतीहुँदा सदनमा अपेक्षाकृत कुरा नउठेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । नयाँ जनवादी क्रान्तिपछिमात्रै सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान हुने बताउँदै उहाँले सुकुम्वासी आन्दोलनले नयाँ जनवादी क्रान्तिको तयारीमा मदत पुग्ने धारणा राख्नुभएको थियो ।