
काठमाडौं,३० जेठ । रास्वपाका नेता तथा कार्यकर्ता संयम र अनुशाशित हुन नसकेको प्रशंग उठेको छ । रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको हिजो पोखरामा उद्घाटनगर्दै सो पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरु अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताउनुभएको थियो । उहाँले पार्टी स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पंक्तिसमेत अनुशासित हुनुपर्ने बताउनुभएको थियो । उहाँको भनाइ छ । महामन्त्री बुर्लाकोटीले अधिवेशनहरुले नीति र नेतृत्वमा खार्दै लैजान्छ । हामीलाई पनि महाधिवेशनको चटारो छ, हामी बृहत्तर पार्टी निर्माणमा लागेका छौँ र आफैँलाई कसी लगाउनुपर्ने ठाउँमा आएका छौँ । एकबखत हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ, अब हामीले धेरै चिजहरुमा संयम हुनुपर्दछ । हामी संयम हुन सक्यौँभने पार्टी कमजोर हुँदैन भन्नुभएको थियो ।
उहाँले कुनै एक व्यक्तिका लागि पार्टी स्थापना गरेर पद सृजना नगरिएकोभन्दै रास्वपा यो देशका सबै नेपाली नागरिकका लागि भएको र देश निर्माण गरिछाड्ने उल्लेख गर्नुभएको थियो । बुर्लाकोटीले हामी सबैकोे योेगदानका कारण पार्र्टी बनेको हो, हाम्रो राजनीतिक भविष्य खोज्नका लागि पार्टीमा जोडिएको होइन, देशको भविष्य निर्माणगर्न रास्वपामा जोडिएका हौँ, त्यसैले सबै जना तोकिएको जिम्मेवारीमा बस्नुपर्छ भन्नुभएको थियो । उहाँले इमानदार कार्यकर्ताका लागि पार्टीले जहिले पनि जिम्मेवारी दिने भएकाले अधिवशेनबाट जिम्मेवारी नपाउने इमानदर र योग्य व्यक्तिलाई विधि बनाएर काम दिइने बताउनुभएको थियो ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी र सरकारमा अहिले कुनै पनि समस्या नरहेको बताउनुभएको थियो । उहाँले पार्टी सभापति रवि लामिछानेले पार्र्टी संगठन र नेतासमेत रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले राजकीय जिम्मेवारी सञ्चालन गर्नेगरी दुई नेताका बीचमा जिम्मेवारी बाँडफाँट गरिएको बताउनुभएको थियो । पराजुलीले रास्वपाको लामो राजनीतिक अभ्यास र अनुभव नभए पनि पार्टी राष्ट्र निर्माणको अभियानमा लागेको बताउनुभएको थियो । प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका पार्टी सचिवालय सदस्य सागर ढकालले देशलाई कसरी कायापलटगर्ने भन्ने मूल उद्देश्य पार्टी गठनको रहेकाले अन्य पद र जिम्मेवारीलाई ठूलो नमान्न आग्रह गर्नुभयो । पार्टीका प्रदेश सभापति राजन गौतमले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन पहिलो प्राथमिकता रहेको बताउनुभएको थियो ।