काठमाडौं,३० जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ट्रेड यूनियन खारेजगर्ने बर्तमान सरकारको प्रयास ०७२ को संविधान विपरित रहेको बताउनुभएको छ । हिजो शुक्रबार विराटनगरमा गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आयोजना गरेको श्रमिक स्वास्थ्य तथा सुरक्षा सचेतना कार्यक्रममा डा कोइरालाले संविधानले नै किटान गरेको ट्रेड यूनियनमा आबद्ध हुनपाउने अधिकार सरकारले खोस्न नसक्ने बताउनुभएको थियो । डा कोइरालाले सरकारले ट्रेड यूनियन खारेजगर्ने प्रयास गरे सबै एक जुट भएर सरकारको कदम विरुद्ध लाग्नुपर्ने धारणा पनि राख्नुभएको थियो । डा कोइरालाले मुलुकमा देखिएको समस्याहरु हलका लागि नेपाली कांग्रेस एक ढिक्का हुन आवश्यक रहेको बताउनुभएको थियो ।

लोकतन्त्र रक्षाका लागि पार्टी एकढिक्का हुनुको विकल्प नरहेको उहाँको भनाई थियो । पार्टीसमेत विभाजित मनस्थितिबाट अघिबढिरहेको बताउँदै डा कोइरालाले अहिलेको अवस्थामा नेपाली कांग्रेस एकढिक्का हुननसक्ने हो भने मुलुकको लोकतन्त्र कमजोर हुनेछ भन्नुभएको थियो । नेता डा. कोइरालाले लोकप्रियतावादी पार्टीहरु भोली कसरी जान्छन्, भन्न सक्ने अवस्था नरहेको पनि बताउनु भएको थियो । कार्यक्रममा आयोजक गिरीजाप्रसाद कोइराला श्रम प्रतिष्ठानकी अध्यक्ष सुधा देवकोटाले ट्रेड यूनियनले नेतृत्व विकाससंगै श्रमिकको आत्मबल बढाउने कुरामा जोडदिदै आएको बताउनु भएको थियो ।