
काठमाडौं,३० जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भोली आइतबार चारदिने औपचारिक भ्रमणका लागि चीन जान लाग्नुभएको छ । नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार एकैसाथ उहाँको बेइजिङ भ्रमणको तालिका सार्वजनिक गरेका थिए । परराष्ट्रमन्त्री खनाल भोली बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पोलिटब्युरो सदस्य एवं विदेशमन्त्री वाङ यीको निमन्त्रणामा भ्रमण हुनलागेको छ । भ्रमणमा २१ फागुनको निर्वाचनपछि गठन भएको नयाँ सरकार र चीनको राजनीतिक नेतृत्वबिचको पहिलो उच्चस्तरीय औपचारिक संवाद हुने भनिएको छ ।
दुई परराष्ट्रमन्त्रीबिच आगामी सोमबार औपचारिक वार्ता तयगरिएको छ । भ्रमणकाक्रममा परराष्ट्रमन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङबीच नेपालको नयाँ सरकारका प्राथमिकता, द्विपक्षीय सहकार्य तथा दुवै देशका सुरक्षा चासोलगायत पारस्परिक हितका विषयमा छलफल गर्ने तयारी छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा गहिरो सहयोगलाई अगाडि बढाउने सन्दर्भमा आपसी हितका मामिलामा छलफल गर्नुहुनेछ । उहाँले जनवादी गणतन्त्र चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिहरुसँग पनि भेटघाट गर्नुहुने भनिएको छ ।
खनालले १ असारमा चिनियाँ विज्ञान प्रतिष्ठान चिनियाँ एकेडेमेमी अफ साइन्सअन्तर्गत इष्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चसम्बद्ध अधिकारी तथा वैज्ञानिकहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उक्त भेटघाटको समन्वय त्यहाँ कार्यरत नेपाली वरिष्ठ वैज्ञानिक डा. डिबी कट्टेलले गरेका छन् । परराष्ट्रका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागिता जनाउँदै नेपालमा वैदेशिक लगानी प्रवद्र्धनका सम्भावनाबारे धारणा राख्नेछन् । उनले चिनियाँ व्यावसायिक समुदायसँग अन्तक्र्रियागर्ने तथा नेपाली दूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागीभई चीनस्थित नेपाली समुदायसँग पनि संवाद गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा १२ मे २०१७ मा हस्ताक्षर भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता तथा ४ डिसेम्बर २०२४ मा सम्पन्न बिआरआई फ्रेमवर्क एग्रिमेन्टको कार्यान्वयनबारे विशेष छलफल हुने सम्भवाना छ ।
परराष्ट्रमन्त्री खनालको भ्रमणको मुख्य उद्देश्य कुनै नयाँ परियोजनाको सूची प्रस्तुत गर्नुभन्दा पनि नेपालको राजनीतिक परिवर्तनपछि चीनसँगको साझेदारीप्रति नयाँ सरकारको प्रतिबद्धता व्यक्तगर्नु रहेको कतिपयको भनाई छ । खासमा चीनले नेपालसँग तत्काल सुपुर्दगी सन्धीगर्ने र त्यसका लागि गत बैशाखमा भारतसँग भएजस्तै सुरक्षा सहमति गराउन चाहेको बताइएको छ । परराष्ट्रमन्त्रि खनालको भ्रमणमा लिपुलेक र कालापानीको बिवादबारे छलफल गर्ने कुनै एजेण्डा राखिएको छैन ।