काठमाडौं,३१ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा स्थापित पुतलीबजार प्रज्ञा प्रतिष्ठानले तीन जना स्रष्टालाई सम्मान गरेको छ । लामो समयदेखि कला, साहित्य र संगीतको क्षेत्रमा निरन्तर साधना गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान पु¥याउनुभएका असफल गौतम, अनन्तकुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाललाई गत शुक्रबार एक समारोहबीच सम्मान गरिएको हो । सम्मानित स्रष्टाहरुलाई जनही २० हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला हस्तान्तरण गरिएको हो । भाषा, कला, साहित्य, संस्कृति, संगीतमध्ये जुनसुकै विद्यामा कलम चलाउने वा कृति प्रकाशन गर्ने स्रष्टालाई सम्मान गर्दै आइएको प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले जानकारी दिनुभयो । उहाँले तीनजनाको मूल्यांकन उपसमिति बनाएर स्रष्टाहरुको छनोट गरेका हौँ । उपसमितिले विभिन्न आधार बनाई सोको परिधिभित्र रहेर तीन जना स्रष्टालाई सिफारिस गरेको थियो ।

समितिले उक्त नाम अनुमोदन गरेसँगै पुतलीबजार प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको हो भन्नुभएको छ । प्रज्ञा प्रतिष्ठानले विगत तीन वर्षदेखि नियमितरुपमा तीन–तीन जना स्रष्टालाई सम्मानगर्दै आइरहेको छ । प्रतिष्ठानबाट हालसम्म नाँैजना स्रष्टा सम्मानित भइसक्नुभएको छ । पुतलीबजार नगरभित्र रहेर भाषा, कला, साहित्य, संस्कृति, संगीतका विधामा योगदान दिएका स्रष्टालाई सम्मानगर्दै आएको प्रतिष्ठानले जनाएको छ । आगामी दिनमा नगरभित्रका मात्रै नभइ अन्य क्षेत्रका स्रष्टालाई पनि समेट्दै जानुपर्ने विषयमा छलफल अगाडि बढाइएको प्रतिष्ठानका कुलपति अधिकारीले जानकारी दिनुभउको छ ।

लामो समयदेखि साहित्यका क्षेत्रमा कलम चलाउँदै आउनुभएका पुतलीबजार–७ का सम्मानित स्रष्टा गौतमले सम्मानले थप जिम्मेवारी बोध गराएको बताउनुभयो । उहाँले प्रतिष्ठानले हरेक वर्ष तीनजना फरक विधाका स्रष्टालाई सम्मानगर्दै आएकामा यस वर्ष युवापुस्ताप्रति राखेको भरोषालाई जीवन्त राख्नका लागि प्रयासरत रहनेछु । नेपाल वाङ्मयका क्षेत्रमा पु¥याएको योगदानको कदरगर्दै सम्मानित गर्नुभएकामा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दछु भन्नुभएको छ । स्रष्टा सम्मान कार्यक्रममा विभिन्न स्रष्टाले आआफ्नो रचना वाचन गर्नुभएको थियो । रासस