
काठमाडौं,३१ जेठ । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा(माओवादी) ले सुस्तामा भएको भारतीय अतिक्रमण लगायतका बिषयलाई अगाडि सारेर काठमाडौंको माइतिघरमा हिजो प्रदर्शन गरेको थाहा भएको छ । माइतीघर मण्डलामा आयोजित प्रदर्शनका सहभागीहरुले भारतीय साम्राज्यवाद मूर्दावाद, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गरौं लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले सुस्ताका देशभक्त नेपालीहरुलाई राज्यले सम्मान दिनुपर्नेभन्दै सीमाको रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए । नेकपा (माओवादी)ले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने भनेको छ ।
गत शुक्रबार नवलपरासी पश्चिमको सुस्ता– ५ थारु टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका थिए । यसैबीच नेकपा (माओवादी)ले भारतीय सीमा अतिक्रमणबिरुद्ध प्रतिरोधमा उत्रन सम्पूर्ण देशवासीलाई आह्वान समेत गरेको छ । सो पार्टीका महासचिव नेत्रबिक्रम चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आह्वान गर्नुभएको हो । महासचिव चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री वालेन्द्र साहले गत १७ गते संसदमा दिएको विवादास्पद तथा राष्ट्रहित विपरीत अभिव्यक्तिपछि जेठ १८ गते सुस्तामा भारतीय सुरक्षा बलले हस्तक्षेप गरेको बताउनुभएको छ ।
उहाँले उक्त घटनाको तत्काल विरोध गरिएको उल्लेखगर्दै सुस्ता क्षेत्रमा भारतीय पक्षको हस्तक्षेप अझै जारीरहेको बताउदै अहिले फेरी भारतीय एसएसबीले सुस्तामा हस्तक्षेप दोहो¥याएको र स्थानीय बासिन्दाले त्यसको प्रतिरोध गरेको बताउनुभएको छ ।