काठमाडौं,३१ जेठ । आजबाट परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण शुरु हुँदैछ । भ्रमण औपचारिकतामा सीमित हुने राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । उहाँ आजै चार दिने औपचारिक भ्रमणका लागि बेइजिङ पुग्दै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको सो भ्रमणका खासै एजेण्डा रहेका छैनन् । भ्रमणको पहिलो दिन आजै साँझ ५ बजे चीनमा रहेका नेपाली समुदाय, बुद्धिजीवी तथा व्यवसायीहरुसँग मन्त्री खनालले विशेष अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
बेइजिङस्थित नेपाली दूतावासले आयोजनागर्ने स्वागत समारोहमा सहभागीहुँदै उहाँले चिनियाँ व्यवसायीहरुसँग समेत नेपालमा लगानीका सम्भावना, पर्यटन प्रवद्र्धन र व्यापारिक अवसरका विषयमा विस्तृत छलफलगर्ने कार्यक्रम तयभएको भनिएको छ । भोली सोमबार बिहान परराष्ट्रमन्त्री खनालले चाइना एकेडेमी अफ साइन्सका प्रतिनिधिहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । सो उच्चस्तरीय बैठकमा नेपाल र चीनबीच शिक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमागर्न सकिने नयाँ सहकार्य र प्राविधिक सहयोगका विषयमा गहन छलफल हुने भनिएको छ । भोली दिउँसो र पर्सी असार २ गते मन्त्री खनाल पूर्णरुपमा राजनीतिक भेटघाटमा व्यस्त रहने कार्यक्रम छ ।
उहाँले आफ्ना चिनियाँ समकक्षी वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ हाइसिङ लगायतका उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय हित र आपसी सम्बन्धका विविध पक्षमा वार्तागर्ने हुनुभएको छ । नेपाल र चीनबिच विगतमा भएका सम्झौताहरुको कार्यन्वयन, सीमा नाकाहरुको स्तरोन्नति, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका आयोजनाहरुको कार्यान्वयन र दुई देशबीचको व्यापार घाटा न्यूनीकरण लगायतका बिषयमा छलफल हुने भनिएको छ । गत फागुन २१ को निर्वाचनबाट रास्वपाको बर्तमान सरकार गठन भएपछि चीनले सुरक्षा चासो बढाएको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ ।