काठमाडौं, ३१ जेठ । राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष रश्मिराज नेपालीले एक बक्तब्य प्रकाशितगरी सम्पत्ति र आर्थिक कारोबार समेतको विवादमा मुछिएपछि जनताको विरोध र दबाबका कारण गृहमन्त्रीबाट हटाइएका सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरिएकोप्रति आफ्नो दलको गम्भीर ध्यानाकर्षित भएको जनाउनुभएको छ । उहाँले बक्तब्यमा गुरुङलाई गृहमन्त्रीबाट हटाइसकेपछि पनि उनको समयमा निर्माण गरिएको गृहमन्त्रालयको सचिवालयलाई यथावत कायम राखिएको थियो । रिक्त गृहमन्त्रीको पदमा अर्को व्यक्तिलाई नियुक्ति नगरी प्रधानमन्त्री स्वयंले आफूमा निहित गरिनु उक्त पदमा पुनः सुदन गुरुङलाई नियुक्तगर्ने उद्देश्य रहेको स्पष्ट थियो र अहिले त्यही उद्देश्यअनुसार उनलाई गृहमन्त्रीमा फर्काउने काम भएको पनि छ ।
गुरुङको आचरण र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेपछि सरकारले आफू अनुकूलकोे छानविन समिति बनाएकोमा हाल उक्त समितिको प्रतिवेदनसमेत सार्वजनिक नै नगरिकन उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्काउने सरकारको उक्त कार्यलाई हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ भन्नुभएको छ । उहाँले बक्तब्यको अन्त्यमा सरकारको उक्त कार्यले छानवीन समिति स्वतन्त्र र निष्पक्ष नभएको कुरालाई पनि स्पष्ट गरेको छ । मानवधिकार आयोगको छानवीन प्रतिवेदनले फ्रि तिब्बतको पक्षमा नेपालमा टीओबी समूहमा गुरुङको संलग्नता रहेको सार्वजनिक गरेको परिप्रेक्ष्यमा उनलाई पुनः गृहमन्त्रीमा नियुक्तगर्ने सरकारको कदमलाईसमेत हामीले कडा शब्दमा विरोध गर्दछौँ भनिएको छ ।