काठमाडौं, १७ असार । फिल्ड इपिडिमियोलोजी सम्बन्धी महत्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गत आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले गर्नुभएको थियो । सम्मेलनले सातबुँदे घोषणापत्रसमेत जारीगरेको छ । ‘सबल स्वास्थ्यका लागि एकताः फिल्ड इपिडिमियोलोजी, निगरानी र नीतिगत निर्देशन’ भन्ने नाराकासाथ विश्व स्वास्थ्य संगठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले गत आइतबारदेखि ललितपुरमा दुईदिने सम्मेलन गरेको थियो । घोषणापत्रको पहिलो बुँदामा समयमै रोगको पहिचान, अनुसन्धान र प्रतिकार्यका लागि स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिगर्न स्वास्थ्य प्रणालीमा फिल्ड इपिडेमियोलोजीलाई संस्थागतगर्ने विषयलाई समेटिएको पाइएको छ ।
देशका बिभिन्न तहमा कार्यरत फिल्ड इपिडेमियोलोजी जनशक्तिलाई अपरिहार्य जनशक्तिकारुपमा पहिचान दिलाउन पैरवीगर्ने, फिल्ड इपिडिमियोलोजी सीपको प्रभावकारी उपयोग सुनिश्चितगर्दै रोग निगरानी, प्रकोप प्रतिकार्य र नीतिगत व्यवस्थागर्न प्रयोगगर्ने, महामारीको प्रभावकारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि फिल्ड इपिडिमियोलोजी जनशक्ति परिचालनगर्ने र प्रत्येक अनुसन्धान तथा प्रतिवेदनलाई राष्ट्रिय मञ्चमा जानकारीगर्ने, निगरानी प्रणालीबाट प्राप्त तथ्यांक र फिल्ड अनुसन्धानका निष्कर्षलाई कार्यान्वयनयोग्य नीति र कार्यक्रम निर्माणमा रुपान्तरणगरी तथ्यमा आधारित निर्णय प्रक्रियाको प्रवद्र्धनगर्ने कुरालाई घोषणापत्रमा समावेश गरिएको पाइन्छ ।
त्यसैगरी अनुभव आदान–प्रदान र ज्ञान साझेदारी कार्यक्रममार्फत फिल्ड इपिडिमियोलोजी जनशक्ति तथा सरोकार भएका निकायबीच सहकार्य, सिकाइ र समन्वय प्रवद्र्धनगर्ने र स्वास्थ्य क्षेत्रका पेसागत र साझेदारबीच अनुभव, निरन्तर सिकाइ, सहकार्य, तथा रणनीतिक संवादलाई प्रवद्र्धनगर्न हरेक दुईबर्षमा फिल्ड इपिडिमियोलोजीको राष्ट्रिय सम्मेलन आयोजनागर्ने विषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ । सम्मेलनका सहभागीले घोषणापत्रलाई साझा दृष्टिकोण, सुदृढ, उत्तरदायी र तथ्यमा आधारित स्वास्थ्य प्रणाली निर्माणप्रति दृढ प्रतिबद्धताको अभिव्यक्तिस्वरूप अनुमोदन गरेका छन् ।