काठमाडौं, १९ असोज । जगदम्बा स्टिलमा गएराति बिष्फोटहुँदा एकजना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा बिष्फोट भएको हो । इलाका प्रहरी कार्यालय सिमराकाअनुसार गए राति करिब ९ः१५ बजे फलाम पगाल्नेक्रममा भट्टीमा अचानक बिष्फोट भएको हो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभएको छ । बिष्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन ।

प्रहरी प्रवक्ता पण्डितले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताउनुभयो । उद्योग सञ्चालनमा रहेको समयमा बिष्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशंका गरिए पनि एकजना मात्र घाइते भएको जानकारी प्राप्त भएको जनाइएको छ । घाइते हुनेमा भारत विहारको सीतामडी निवासी अजय बैठा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिनुभएको छ । अपरेटरको कामगर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छभने आगो नियन्त्रण आइसकेको थाहा भएको छ ।