काठमाडौं, २१ असार । जसपाका स्थानीय नेता र प्रहरीबीचको बिवादले सर्लाहीमा तनावको अवस्था सिर्जना भएको छ । सर्लाही जिल्ला अदालतले आफूलाई पक्राउगर्न पक्राउ पूर्जी जारी गरेपछि जसपाका मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव फरार हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौजमा उत्रनुभएका यादवलाई जिल्ला अदालतले हिजो शुक्रबार आपराधिक उपद्रो कसुरमा पक्राउ पूर्जी जारी गरेको थियो । अदालतले पक्राउगर्न अनुमति प्रदान गरेलगत्तै प्रहरीले कविलासी नगरपालिका–१० सलेमपुरका यादवको खोजी गरिरहेको बताइन्छ । सर्लाही प्रहरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले आज शनिबार बिहानसम्म यादव पक्राउ नपरेका बताउनुभउको छ ।
यादवको खोजीमा प्रहरी तैनाथ भइरहेको डिएसपी राईको भनाइ छ । पूर्व मधेश प्रदेशसभा सदस्य समेत रहेका यादवलाई पक्राउ गर्न भन्दै प्रहरीले सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा जिल्लाका बिभिन्न युनिटबाट थप मद्धतमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी प्रमुखसँग गालीगलौजमा उत्रिएपछि गत बिहीबार मध्यरातिनै यादवलाई पक्राउगर्ने प्रयास गरिएको थियो । यादवलाई पक्राउगर्न गएको प्रहरी चढेको गाडीमा यादवका समर्थकहरुले तोडफोड र अवरोध गरेका थिए । जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरी प्रमुख खड्काबिच टेलिफोनमा भएको बाझाबाझ अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल भएको छ । सर्लाहीमा नेपाल प्रहरीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई जसपा नेपालका मधेश प्रदेशका अध्यक्ष अशोक यादवले धम्की दिएपछि तनाव शुरु भएको बताइन्छ ।