तस्वीर रासस

काठमाडौं,३० असार । पूर्बी तराईका अधिकांश जिल्लामा खडेरीका कारण रोपाई हुन नसकेपछि हलचल शुरु भएको छ । प्रदेश सरकारहरुले धमाधम सुख्खाग्रस्त क्षेत्र घोषणा गरेका छन्भने प्रतिनिधिसभामा समेत प्रश्न उठेको छ । यसैक्रममा प्राप्त एक समाचारअनुसार समयमै वर्षा नहुँदा सुनसरीका किसानले राखेको धान ब्याड सुक्नथालेको छ । असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुनसकेको छैन । आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो सुक्नथालेको छ । रासससँगको कुराकानीमा स्थानीय कृषक सन्तोष चन्द्रवंशीले यो बर्ष पानी पर्ने आशा त थियो । तर, चाहिएको बेला पानी परेन । हामी आकाश हेरेर बसेका छौँ, धानको रोपो सुक्नथालेको बताउनु भएको छ । उहाँकाअनुसार बिद्युत आपूर्ति सबै क्षेत्रमा नपुगेकाले पम्पसेटमार्फत सिँचाइ गर्न सम्भव छैन । वराहक्षेत्र नगरपालिकाले श्रीलंका टापुका किसानलाई ४३ थान बिद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ । रामधुनी नगरपालिकाका किसान रामभुवन रायले आफूले दुई बिघाहमा रोपाइँ गर्दै आएकोमा अहिलेसम्म आधा खेतमा पनि रोपाइँ गर्न नसकेको बताए ।

वर्षामा भरपर्ने उनीहरुजस्ता किसानलाई यही अवस्था रहिरहेमा धान बाली नै गुम्ने खतरा रहेको उनको भनाइ छ । कोशी–७ की किसान सरस्वती मियाँले जेठमै ब्याड तयार पारे पनि पानी नपरेपछि सुक्न थालेको बताए । धरान उपमहानगरपालिका–६ का किसान बुद्धिमान तामाङकाअनुसार कुलोमा पानी नआएपछि रोपाइँगर्न सकिएको छैन । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंहका अनुसार, गत बर्ष असारको अन्त्यसम्म जिल्लामा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । तर यस बर्ष सोही अवधिमा ३२ प्रतिशत मात्र रोपाइ भएको छ । किसानले समयमै सिँचाइको व्यवस्थाका साथै मल, बिउ र अन्य कृषि उपकरणमा अनुदान माग गरिरहेका छन् ।