काठमाडौं, ३२ असार । गुणस्तरहीन सडक निर्माणको स्थानीयद्वारा विरोध भएको छ । प्राप्त समाचारअनुसार जिल्ला सदरमुकाम सिरहा हुँदै भारतसँगको सीमावर्ती बजार माडर जोड्ने सडकअन्तर्गत माडर बजार क्षेत्रको आरसिसी ढलानको काम गुणस्तरहीन भएकोभन्दै मङ्गलबार दिनभर स्थानीयले विरोध प्रदर्शन गरेका छन् । स्थानीयले सरकारी निकाय र ठेकेदार कम्पनीबीचको मिलेमतोमा योजनाबमोजिमको मापदण्ड नअपनाई कमसल सामग्री प्रयोग गरिएको आरोप लगाएका छन् । स्थानीय रामकुमार यादवले माडरको कालि मन्दिरबाट भन्सार जाने बाटोको ६० मिटर सडकमा गत आइतबार राति गरिएको ढलानमा गिट्टी, बालुवा र सिमेन्टको अनुपात नमिलाई कमसल निर्माण गरिएको छ ।

गत सोमबार बिहानै अनुगमनका क्रममा लट्ठीले घोच्दा पनि सडक फुट्ने देखियो भन्नुभयो । सिरहा नगरपलिका–१७ का वडाध्यक्ष उमेशप्रसाद यादवकाअनुसार गुणस्तरहीन निर्माण भएपछि नगरपालिकाका प्राविधिक र प्रहरी बोलाएर अनुगमन गरिएको छ । निर्माण व्यवसायीको मिक्स्चर र पानीट्यांकर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । निर्माण कम्पनीका साइट इञ्जिनियर सञ्जीव साहले मजदुरको त्रुटिका कारण समस्या भएको स्वीकार गर्नुभएको थियो । उहाँले अब प्राविधिक परीक्षण गरिने जानकारी दिँदै गत आइतबार रातिको ढलानमा घोल्दा गल्तीले छिटो जम्ने केमिकल बढी प्रयोग भएको हो । निर्माण सामग्रीको अनुपात नमिलेको होइन भन्नुभयो ।

योजनाअन्तर्गत सिरहा सदरमुकामबाट माडरसम्मको एक हजार ३०० मिटर सडकमा दुवैतर्फ वर्षा यामको पानीको निकासका निम्ति नाला निर्माण, ग्राभेल, माटो भर्ने, आरसिसी ढलान र बिद्युत पोल सार्ने कार्य समावेश छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालयले छकरोड ५८ लाख ५३ हजार ८१० मा यो सडक निर्मााणको सम्झौता भएको हो ।