काठमाडौं, ५ साउन । वर्षात्मा पनि आगलागीका घटना नघटेकोमा चिन्ता र चासो ब्यक्त भैरहेको छ । राष्ट्रिय विपद् जोमिख न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार सक्रिय मनसुन रहेको, देशव्यापीरुपमा पानी परिरहेको भए पनि आगलागीको घटना उल्लेख्य भएका छन् । गत तीनगते बिहान १० बजेदेखि चारगते बिहान १० बजेसम्म मात्रै छवटा आगलागीका घटना घटेका छन् । त्यसबाट छ जनाको निधन भएको छभने एक घाइते भएका छन् । आगलागीबाट ४० परिवार प्रभावित भएका छन् । गत बैशाखदेखि हिजो साउन चार गतेसम्म ९६९ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट १४ जनाको ज्यान गएको छ । आगलागीमा परेर १४० जना घाइते भएका छन् । त्यसबाट एक हजार ७९ परिवार प्रत्यक्षरुपमा प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । गत बैशाखदेखि हालसम्म वन डढेलोको संख्या १५८ छन् । त्यसबाट दुईजना घाइते हुँदा २७ घरपरिवार प्रभावित भएका छन् । हावाहुरीका दुई सय ७३ घटना रेकर्डहुँदा आठको ज्यान गएको छ । कूल ३९ जना घाइते हुँदा पाँच सय ३१ परिवार हावाहुरीका कारण प्रभावित भएका छन् । सो अवधिमा ६३ वटा सर्पदंशको घटना घटेका छन् ।
सर्पदंशका कारण पाँच जनाको ज्यान गएको छभने ६४ घाइते भएका छन् । ७० परिवार प्रभावित बनेका छन् । देशभर बाढीको १३७ घटना रेकर्ड भएका छन् । त्यसबाट १३ जनाको ज्यान जानुका साथै एक हजार २४६ परिवार प्रभावित भएका छन् । बाढीमा परेर २० जना बेपत्ता भएका छन् । पहिरोमा १८३ वटा घटना रेकर्ड भएको छ । पहिरोमा परेर सात जनाको ज्यानजाँदा नौजना घाइते भएका छन् । कूल १९९ परिवार प्रभावित भएका छन् । सो अवधिमा देशभर २२४ पटक परेको चट्याङबाट २८ जनाको निधन भएको छ । १६० जना घाइते हुँदा २६० परिवार प्रभावित भएका छन् । लेक लागेर ११ जना, जनावरको आक्रमणमा परेर १२ जनाको ज्यान गएको सरकारी तथ्यांक छ ।