काठमाडौं, ८ साउन । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्दका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनुभएको छ । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–१ मा नवनिर्मित जलेश्वर बहुउद्देश्यीय भवनको हिजो भएको उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री सिंहले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र हाल नेपाली कांग्रेस पार्टी भित्रै द्वन्द बढेको कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनु भएको थियो ।

उहाँले पार्टीभित्रै एक अर्काभित्र आरोप–प्रत्यारोप र हिलो छ्याप्ने कामले संगठन कमजोर हुँदैगएको र यसको प्रत्यक्ष असर संघीय लोकतान्त्रिक व्यवस्थामा पर्ने औँल्याउँदै यस्तो परिस्थितिमा आजको आवश्यकता पार्टीलाई बलियो बनाउनु रहेको बताउनुभएको थियो । उपप्रधानमन्त्री सिंहले अहिले पार्टीका सबै नेता कार्यकर्ताले संगठन सुदृढीकरण तथा सहकार्य र समन्वयमा पार्टीलाई बलियो बनाउँदै लैजानुको विकल्प नरहेको बताउनुभएको थियो । सिंहले मधेसमा अहिले खानेपानी र सिँचाइको हाहाकार रहेकाले यसको लागि संघीय सरकारले ठोस कदम चाल्ने निर्णय गरिसकेको र कुनै न कुनै वैकल्पिक उपाय निकालिने बताउनुभएको थियो ।