काठमाडौं, १३ साउन । लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणागरिएको छ । दिगो विकासका लागि बौद्ध शिक्षा र कूटनीति विषयक दुई दिने अन्तराष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारीगर्दै हिजो लुम्बिनीमा सम्पन्न भएको छ । गोष्ठीमा पूर्वराजदूत, बिभिन्न विश्वबिद्यालयका उपकुलपति, बौद्ध विद्वान् तथा अनुसन्धानकर्ताले कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो । विश्वबिद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले आगामी वर्षमा पनि गोष्ठीलाई निरन्तरता दिइने बताउनुभउको थियो । लुम्बिनी बौद्ध विश्वबिद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय दूतावासको सहकार्यमा भएको गोष्ठीमा नेपाल र भारतका कूटनीतिज्ञ, विश्वबिद्यालयका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति र कूटनीति विस्तारमा जोड दिएको छभने लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रुपमा विकासगर्ने घोषणा गरेको छ । विश्वका संकटग्रस्त संवेदनशील क्षेत्रमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्र स्थापना गर्नुपर्ने गोष्ठीले निष्कर्ष निकालेको छ । प्रकृतिप्रति करुणा र अन्तरनिर्भरतासम्बन्धी बुद्धका शिक्षामा आधारित पर्यावरणीय शान्तिको प्रवद्र्धनगर्ने, कूटनीतिज्ञका लागि माइन्डफुलनेस आधारित तालिम कार्यक्रम शुरुगर्नुपर्ने प्रस्ताव अघिसारिएको छ ।

जसको माध्यमबाट द्वन्द समाधान र ध्यान अभ्यासमा केन्द्रित हुनसकिने विज्ञहरुको धारणा छ । त्यस्तै, बौद्ध मूल्य र नैतिक सिद्धान्तसँग मेल खाने कूटनीतिक आचरणको मापदण्ड तयगर्ने विश्वव्यापी मान्यता प्राप्त बौद्ध नैतिक सम्बन्ध विकासगर्ने, नेपाल तथा भारतका बौद्ध तीर्थस्थलमा एकीकृत शान्ति पर्यटनलाई प्रवद्र्धनगरी आपसी समझदारी र सांस्कृतिक सौहार्दता बढाउनुपर्ने विज्ञहरुको निष्कर्ष छ । बौद्ध दर्शन, शान्ति शिक्षा र दिगो विकासका लागि युवा सहभागितामा अन्तरराष्ट्रिय बौद्ध शान्ति संस्था निर्माण, बौद्ध चिन्तनबाट प्रेरित भएर द्वन्दको पूर्वानुमान, गलत सूचना पहिचान तथा ध्यान निर्देशितगर्ने उपकरणसहित नैतिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकासलाई प्रवद्र्धन गर्नुपर्नेमा पनि गोष्ठीले जोड दिएको छ । यस्तै, ग्लोबल पीस इन्डेक्सको नमुनामा आधारित लुम्बिनी शान्ति सूचकांक स्थापनागरी बौद्ध मूल्यमा आधारित शान्ति सूचकको मूल्यांकन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । विश्वबिद्यालय र सरकारी निकायको सहकार्यमा बौद्ध भिक्षु थिंक ट्यांक गठनगरी वैश्विक संकटमा दार्शनिक तथा नैतिक मार्गदर्शन प्रदान गर्ने गोष्ठीले घोषणा गरेको छ । हरेक वर्ष लुम्बिनी अन्तरराष्ट्रिय डिप्लोम्याटिक रिट्रिटगर्ने, अन्तरराष्ट्रिय कानून र द्वन्द समाधानका लागि बौद्ध कानूनी दर्शनको अध्ययन र प्रयोग प्रवद्र्धनगर्ने घोषणा गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वबिद्यालयलाई र दक्षिण एसियाली शान्ति अनुसन्धान तथा दिगो विकास केन्द्रको सहकार्यमा लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रुपमा विकासगर्ने, लुम्बिनी बौद्ध विश्वबिद्यालयलाई कूटनीति, शान्ति स्थापना र दिगो विकासको क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कूटनीतिक, शैक्षिक संस्थासँग सहकार्यगरी एक उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने घोषणा गरिएको छ । गोष्ठीमा बुद्ध शिक्षा र विश्व कूटनीति, करुणा र द्वन्द समाधान, बौद्ध सिन्द्धान्तमा आधारित दीगो विकास, सहकार्य र शान्ति निर्माण विषयमा छलफल भएको थियो । कूटनीतिक एवम् पूर्वराजदुत प्राडा लोकराज बराल, भारतका पूर्वराजदूत डा अमरेन्द्र खटुवा, पूर्वराजदूत रुचि घनश्याम, पूर्वराजदूत टंक कार्कीलगायतका विज्ञले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा ५८ जना विद्वानले बिभिन्न एजेण्डामा रहेर छलफल गरेका थिए ।