वाशिंटन, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणागर्दै भारतबाट आयात हुने वस्तुहरुमा २५ प्रतिशत आयशुल्क (ट्यारीफ) लगाइने बताउनुभएको छ । साथै, भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरीद गरिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसबारे थप कदम चालिने संकेत पनि दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत आफ्नो सन्देश सार्वजनिक गर्दै भन्नुभयो–भारत हाम्रो मित्र हो, तर उसले विश्वमै उच्चतम आयशुल्क तथा जटिल व्यापारिक नियमहरु अपनाएको छ, जसका कारण व्यापारिक सम्बन्ध अपेक्षाकृत सशक्त बन्न सकेको छैन । उहाँले अमेरिका–भारतबीचको व्यापार घाटालाई ‘ठूलो’ भन्दै त्यसमा सुधारगर्न यो निर्णय आवश्यक रहेको बताउनुभयो । राष्ट्रपति ट्रम्पले रुससँग भारतको निकटता र सैन्य तथा ऊर्जा खरीदलाई युक्रेन युद्ध सन्दर्भमा गम्भीर रुपमा लिनुभएको छ । उहाँले भारत र चीन अहिले रुसका ठूला ऊर्जा खरीदकर्ता हुन्, यस्तो बेला जब विश्वले रुसलाई युक्रेनमा भएको हिंसा रोक्न आग्रह गरिरहेको बताउनु भयो । यद्यपि, उहाँले भारतमाथि लाग्ने भनिएको अतिरिक्त ‘कारबाही’ को स्पष्ट विवरण दिन बाँकी छ ।
विश्लेषकहरुका अनुसार, यो निर्णय रुसमाथि दबाब सिर्जनागर्न तथा व्यापार सन्तुलन मिलाउन गरिएको हो । राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति पुटिनलाई १० दिनको समयदिँदै चेतावनी दिनुभयो, यदि सो अवधिमा मार्ग परिवर्तन भएन भने थप कठोर कदम चालिनेछ । भारत र अमेरिका बीच पछिल्लो समय व्यापक व्यापार वार्ता भएको थियो । तर, कृषिजन्य र दुग्ध उत्पादन क्षेत्र खुलाउने विषयमा भारतको सतर्कता र ट्रम्प प्रशासनको कडा मागबीच सहमति हुनसकेको छैन । हाल भारतबाट अमेरिका पठाइने अधिकांश वस्तुहरुमा करिब १० प्रतिशत आयशुल्क लागिरहेको छ, जुन अब बढेर २५ प्रतिशत पुग्ने तयारी गरिएको छ । साथै, राष्ट्रपति ट्रम्पले अन्य देशहरुसँग पनि व्यापार सन्तुलन कायमगर्न नयाँ ट्यारीफ लगाउने चेतावनी दिइरहेका छन् । ब्राजिलमाथि उहाँले ५० प्रतिशतसम्म आयशुल्क लगाउने सम्भावना व्यक्त गर्नुभयो । रासस÷एएफपी