काठमाडौं, १५ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले प्रजातन्त्र र गणतन्त्रको जग बलियो बनाउन तीनतहकै सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिकाले हिजो भक्तपुरमा आयोजना गरेको ‘स्थानीय स्वायत्तता र विकेन्द्रीकरणसम्बन्धी मार्गनिर्देशन’ कार्यक्रममा उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले स्थानीय तहलाई बलियो र सक्षम बनाउन संघ, प्रदेश र स्थानीय तहले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो । अध्यक्ष बिजुक्छेँले सार्वजनिक पद धारणगर्ने व्यक्ति इमान्दार र सक्षम हुनुपर्ने बताउनुभएको थियो ।

उहाँले जनताको सचेतनालेमात्र देशलाई सही दिशातर्फ मार्गनिर्देश गर्ने बताउँदै त्यसका लागि नागरिक जागरुक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सघीय राज्यको आवश्यकता जात–जाति र भाषाभाषीका आधारमा हुनु जरुरी रहेको औँल्याउनुभएको थियो ।