काठमाडौं, १८ साउन । आजबाट तीनदिनसम्म केही स्थानमा लगातार वर्षा हुनेभन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । देशका बिभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आबश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनारभई यात्रा गर्नेहरुले सावधानी अपनाउनु जरुरी छ । त्यसैगरी रुकुमपश्चिमको ठूलो भेरी, रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

त्यस्तै, म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारीगर्दै आम जानकारी गराएको छ । यसैबीच रामेछापको सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं आउने वैकल्पिक मार्गका रुपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । कटानका कारण ठूला सवारीसाधनको आबागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् । गत शुक्रबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला सवारीसाधनको आबागमन पूर्ण रुपमा रोकिएको छ । मन्थली नगरपालिका–७ र खाँडादेवी–४ पकरबास जोड्ने उक्त पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ । दुई पांग्रे सवारीसाधनबाहेक अन्य सवारीसाधन चलाउन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राससलाई बताउनुभएको हो ।

उहाँले बाटो खुलाउने प्रयास जारी रहेको पनि बताउनु भएको छ । पुल जोखिममा रहेको थाहा पाएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अवलोकनगरी सम्बन्धित निकायलाई मर्मतगर्न निर्देशन दिएको थियो । त्यसैगरी भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो । बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जानथालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले राससलाई जानकारी दिनुभएको हो । बजारमाथिको डाँडामा ढुंगा उत्खनन गरिँदा बस्तीलाई असर परेको उहाँको भनाइ छ ।