काठमाडौं, १९ साउन । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि २७ ढोका खोलिएका छन् । हिजो बिहानदेखि पानीको बहाव वृद्धि भएको छ । साँझ सातबजेको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव रहेकामा राति आठ बजे एक लाख ९१ हजार २१० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव मापन भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभउको छ । हाल ५६ मध्ये २७ वटा ढोका खुला गरिएका उहाँले बताउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले नदीमा पानीको बहाव बढे पनि कुनै समस्या नरहेको बताउनुभएको छ । कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव पुगेमा खतराको संकेतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । यसैबीच सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीहरु डुबानको जोखिममा परेका छन् ।
नदी कटान तीव्र बन्दै गएकाले सुन्दरपुरका ४५ र इस्लामपुरका ३० घरधुरी अहिले बाढीको चपेटामा छन् । ससाना झुपडीसहितका बस्ती नदीको किनारमै छन्, जहाँ कटानको दूरी अब पाँच मिटरमात्र बाँकी रहेको स्थानीयवासी बताउँछन् । लगातारको वर्षाले बलान नदीमा आएको बाढीले कटान झनै तीव्र बनाएको छ । बस्ती छेउमै रहेको खुट्टी खोलासँगको दोभान क्षेत्रसमेत कटानमा परेको छ ।