वाशिंटन, २० साउन । अमेरिकी श्रम तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो बेरोजगारी सम्बन्धी प्रतिवेदनले मुलुकको श्रम बजार सुस्त बन्दै गएको स्पष्ट गरेको छ । यस अवस्थालाई लिएर विभिन्न क्षेत्रका विज्ञहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् । गत शुक्रबार सार्वजनिक विवरणअनुसार, साउन महिनामा अमेरिकी गैरकृषि क्षेत्रमा जम्मा ७३ हजार नयाँ रोजगारी थपिएका छन्, जुन एक लाख चार हजारको अनुमानभन्दा धेरै कम हो । सोही अनुसार, बेरोजगारी दर पनि ४.१ प्रतिशतबाट बढेर ४.२ प्रतिशत पुगेको छ । श्रम विभागले यसअघि प्रकाशित जेठ र असार महिनाका तथ्यांकलाई पनि संशोधन गर्दै कुल दुई लाख ५८ हजार रोजगारीको गिरावट भएको जानकारी दिएको छ । विभागका अनुसार यो गिरावट ‘सामान्यभन्दा ठूलो’ हो । आर्थिक तथा नीति अनुसन्धान केन्द्रका सह–संस्थापक डीन बेकरका अनुसार रोजगारी वृद्धि र तलब वृद्धिमा देखिएको सुस्तीका कारण उपभोगमा गिरावट आउन सक्छ । त्यस्तो अवस्थामा लगानीले त्यसको स्थान लिन नसक्ने देखिएको छ । साथै, राज्य तथा स्थानीय सरकारहरु पनि खर्च कटौतीगर्न बाध्य भइरहेका छन्, जसले गर्दा समग्र अर्थतन्त्रमा थप कमजोरी देखिन सक्छ । अन्तर्राष्ट्रिय आर्थिक नीतिसम्बन्धी प्रतिष्ठानका वरिष्ठ विज्ञ ग्यारी हफबाउरले हालको अवस्था हेर्दा, आगामी केही महिनासम्म श्रम बजारमा ठोस सुधारको सम्भावना देखिँदैन भन्नुभएको छ । वर्तमान रोजगारीको सुस्ती अमेरिकी सरकारद्वारा अपनाइएको भन्सार नीतिसँग पनि सम्बन्धित रहेको विज्ञहरु बताउँछन् । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रमुख व्यापारिक साझेदारहरुमाथि लादिएका उच्च भन्सार शुल्कहरुले बजारमा अनिश्चितता बढाएको विश्लेषण गरिएको छ । हफबाउरले भन्सार नीतिले उपभोक्ताको खर्च क्षमतामा अप्रत्यक्ष असर पार्दछ ।
मूल्य वृद्धि हुँदा उपभोग घट्छ, र त्यसले रोजगारी सिर्जनामा नकारात्मक प्रभाव पार्दछ भन्नुभएको छ । डीन बेकरले पनि यस्तै धारणा व्यक्तगर्दै भन्नुभयो–भन्सारले उपभोक्ताको क्रयशक्ति घटाउँछ, जसको प्रत्यक्ष असर उपभोग र लगानीमा देखिन्छ । मेरील्याण्ड विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता क्ले राम्सेका अनुसार श्रम बजारको अवस्था पहिले देखिएजस्तो सकारात्मक थिएन । अहिले श्रम बजारमा जेठ महिनादेखि नै गिरावट शुरु भइसकेको स्पष्ट भएको छ । श्रम बजारको कमजोरीले राष्ट्र बैंक (फेडरल रिजर्भ) लाई ब्याजदर घटाउने निर्णय लिन प्रेरितगर्न सक्ने विश्लेषण गरिएको छ । हफबाउरले यसबारेमा भन्नुभयो–यस अवस्थाले राष्ट्र बैंकलाई थप ब्याजदर घटाउन बाध्य तुल्याउने सम्भावना छ, जसले केही हदसम्म अर्थतन्त्रमा गति ल्याउन सक्छ । श्रम बजारसम्बन्धी कमजोर विवरण सार्वजनिक भएलगत्तै राष्ट्रपति ट्रम्पले श्रम तथ्यांक विभागकी आयुक्त डा. एरिका म्याकएन्टार्फरलाई पदबाट हटाउने निर्णय लिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत उक्त निर्णयको जानकारी दिँदै डा.म्याकएन्टार्फरले राजनीतिक उद्देश्यसहित तथ्यांकलाई तोडमोड गरेका थिएभन्ने आरोप लगाउनुभयो । यद्यपि कुनै प्रमाण प्रस्तुत गरिएको छैन । हफबाउरले यस कदमलाई ‘पूर्ण रुपमा राजनीतिक निर्णय’ भन्दै आलोचना गर्नुभयो । उहाँले उहाँको कार्यदक्षता वा योग्यता सन्देहको विषय थिएन भन्नुभयो । राम्सेले भन्नुभयो–यस्तो निर्णयले उल्टो असर पार्न सक्छ । म्याकएन्टार्फर अब श्रम बजारसम्बन्धी सूचना र मूल्यांकनको लागि मिडियाको केन्द्र बन्न सक्नेछिन्, जसले सरकारले दिने तथ्यांकहरुलाई विश्वसनीय बनाइराख्न चुनौती सिर्जनागर्न सक्छ । रासस÷सिन्ह्वा