काठमाडौं, २० साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाई धरौटीमा रिहा हुनु भएको छ । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी प्रसाई गएराति डिल्लीबजार कारागारबाट रिहा हुनु भएको हो । हिजो सोमबार सो अदालतले दुईवटा मुद्धामा प्रसाईसँग २८ लाख धरौटी माग गरेको थियो । उच्च अदालतले प्रसाईलाई तीनकुने घटनाका सम्बन्धमा तीन लाख र बैंकिङ कसुर मुद्धामा २५ लाख धरौटी माग गरेको थियो । अदालती प्रक्रिया पूरा भएपछि कारागारले गए रातिनै प्रसाईलाई रिहा गरेको हो । पाटन उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीराज श्रेष्ठको संयुक्त इजलाशले प्रसाईसहित सुशील बराल, डण्डपाणि रेग्मी, तारा राजावादीभन्ने सरोज गौतमलाई धरौटी माग गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले यसअघि प्रसाईलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, बज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध प्रसाईले उच्च अदालतमा निवेदन दिनु भएको थियो । त्यसैगरी पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलाशले पनि बैंकिङ कसुर मुद्धामा धरौटी माग गरेको थियो । गए राति प्रसाईं धरौटी बुझाएर निस्किएपछि उहाँलाई लिन नेपाली कांग्रेस सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुग्नु भएको थियो । कारागार अगाडि समर्थकहरुको बाक्लो भिड लागेको थियो । अदालतले प्रसाईं क्यान्सर रोगबाट पीडित भएको भन्ने प्रमाणबाट देखिएकाले धरौटीमा छाड्ने आदेश गरेको बताइन्छ ।