ब्रासिलिया, २१ साउन । अमेरिकाले केही ब्राजिलियन निर्यात वस्तुहरुमा नयाँ भन्सार शुल्क घोषणा गरेपछि ब्राजिल सरकारले यसबारे गहिरो चासो व्यक्त गरेको छ र विश्व व्यापार संगठन (डब्लुएचओ) मार्फत समाधान खोज्ने प्रक्रिया शुरुगर्ने तयारीमा रहेको जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कफी, मासु र पेट्रोरसायन पदार्थहरुमा ५० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय घोषणा गरेका छन्, जुन आगामी बुधबारदेखि लागूहुनेछ । यस निर्णयले करिब ३५ प्रतिशत ब्राजिलको अमेरिकी निर्यात प्रभावित हुने अनुमान गरिएको छ, यद्यपि केही महत्वपूर्ण वस्तुहरुजस्तै ऊर्जा सामग्री र निश्चित खनिजहरुभने यसबाट अलग राखिएका छन् । यस सन्दर्भमा ब्राजिलको वैदेशिक व्यापार चेम्बरले डब्लुएचओसँग प्रारम्भिक परामर्श प्रक्रिया थालनीगर्न प्रस्ताव पारित गरिसकेको छ । प्रस्ताव राष्ट्रपतिज्यू लुइज इनासिओ लुला दा सिल्भालाई पेश गरिएको छ, जसले उजुरी कहिले र कसरी अघि बढाउने भन्ने अन्तिम निर्णय लिनेछन् । उप–राष्ट्रपति जेराल्डो आल्कमिनले सरकार उक्त भन्सार शुल्कका सम्भावित असरहरु न्यूनीकरण गर्न प्रयासरत रहेको जानकारी दिनुभयो ।
उहाँले कृषि क्षेत्रका सरोकारवालासँग छलफल गरी आवश्यक रणनीति तयगर्ने कार्य अघिबढिरहेको बताउनुभयो । अर्थमन्त्री फर्नान्डो हदादले ब्राजिल सँधै वार्ताको पक्षमा रहेको उल्लेखगर्दै हामी बराबरीको आधारमा सहकार्यगर्न इच्छुक छौँ । ब्राजिल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो, त्यसअनुसार व्यवहार अपेक्षित छ भन्नुभयो । उहाँले उक्त शुल्क वृद्धिलाई अत्यधिक र अव्यावहारिकभन्दै सकारात्मक सहकार्यका सम्भावना अझै खुला रहेको संकेत गर्नुभयो । विशेषगरी दुर्लभ खनिज, प्रविधि र डाटा पूर्वाधार जस्ता क्षेत्रमा आपसी सहकार्यको अवसर पहिचान गर्न सकिने उहाँको भनाइ थियो । सरकारले आगामी दिनमा प्रभावित उद्योगहरुलाई राहत दिने उद्देश्यले विशेष सहयोग प्याकेज सार्वजनिकगर्ने तयारी गरिरहेको पनि जानकारी दिइएको छ । यसमा कर्जा सहायता लगायतका उपायहरु समावेश हुनेछन् । यद्यपि, यसले बजेटमा केही असर पार्नसक्ने भए पनि त्यसलाई बिद्यमान वित्तीय अनुशासनभित्र व्यवस्थापन गरिने अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । रासस÷सिन्ह्वा