काठमाडौं, २१ साउन । चिकित्सकहरु तलब तथा सेवासुविधा नपाएकाभन्दै आन्दोलित भएका छन् । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा तीन दिनदेखि पूर्णरुपमा ठप्प भएको छ । फार्मेसीमा कार्यरत कर्मचारीले सात महिनादेखि तलब तथा सेवासुविधा नपाएकाभन्दै आन्दोलन थालेपछि सेवा बन्द भएको हो । फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र चारजना सहयोगी गरी २२ जना कर्मचारीले तलब तथा सेवासुविधा मागगर्दै धर्ना बसेका छन् । चौबीसैँ घण्टा सञ्चालन हुने फार्मेसी सेवा बन्दहुँदा बिरामी औषधि सेवाबाट वञ्चित भएका छन् । कर्मचारीको धर्नाका कारण विशेषगरी प्रतिष्ठानको फार्मेसीमार्फत दिइँदै आइएको स्वास्थ्य बिमाअन्तर्गतका औषधि रोकिएका छन् । औषधि नपाएपछि बिरामी तथा तिनका आफन्तहरु निजी फार्मेसीमा गएर महँगो मूल्य तिर्न बाध्य भएका हुन् । प्रतिष्ठानको फार्मेसी सेवा निजी आपूर्ति कम्पनी केटिएम सेक्युरिटी सर्भिसेज प्रालिमार्फत सञ्चालन हुँदैआएको छ । कर्मचारीलाई तलब तथा अन्य सेवासुविधा दिने दायित्व पनि सोही कम्पनीको भए पनि सात महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रनुपरेको उहाँहरुको भनाइ छ ।
तलब तथा सेवासुविधाको मागगर्दै पटक,पटक मौखिक र लिखित रुपमा आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको कर्मचारीहरु बताउँछन् । वर्षौंदेखि सेवादिँदै आए पनि नियमित तलब उपलब्ध नहुँदा परिवारको खर्च चलाउन समस्या भइरहेकोभन्दै तलब नआएसम्म काममा फर्किने अवस्था नरहेको आन्दोलनमा सहभागी कर्मचारीहरुले बताउनुभएको छ । ०७० मंसिर आठगते केटिएम सर्भिसेजसँग तीन बर्षका लागि सेवा सम्झौता गरिएको थियो । पछि सो सम्झौताको म्याद थपगरी सेवा निरन्तरता दिइएको थियो । सम्झौताअनुसार कुनै कर्मचारीले सेवा अवरोध गरेमा २४ घण्टाभित्र वैकल्पिक जनशक्ति व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि त्यसको पालना नभएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा अभिजित कुमारद्वारा जारीगरिएको विज्ञप्तिमा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सेवा अवरोध गर्नु प्रचलित कानुनविपरीत भएको उल्लेख छ । विज्ञप्तिमा अस्पताल क्षेत्रभित्र धर्ना, हडताल, तालाबन्दीजस्ता गतिविधिगर्न कानूनले अनुमति नदिएको स्मरण गराउँदै सेवा तत्काल सुचारु गराउन आपूर्ति कम्पनी केटिएम सर्भिसेजलाई आग्रह गरिएको छ ।