काठमाडौं, २२ साउन । राजावादीहरुलाई छिन्नभिन्न बनाउन केही शक्तिकेन्द्रहरुले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई परिचालन गरेको सोही पार्टीका कतिपय नेताहरुले आरोप लगाएका छन् । जुन बिषय राजनीतिक क्षेत्रमा समेत चर्चाको बिषय भएको छ । राप्रपालाई राजावादी र हिन्दूवादी पार्टीभन्ने गरिएपनि सो पार्टीका गतिबिधि उपरोक्त कुराका ठीक बिपरित देखिएका छन् । राजसंस्था पुनस्र्थापना र हिन्दूराष्ट्र घोषणाको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीहरुलाई छिन्नभिन्न गराउन भूमिका निर्वाह गरेको देखिएको छ । सोही कारणले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीचको बिवादले उग्ररुप लिएको छ । पछिल्ला दिनमा एउटै राप्रपाभित्र फरकफरक भेला, बैठक र कार्यक्रमहरु हुन थालेका छन् । विवाद बढ्दैगएपछि कार्यकर्ता अलमलमा परेको बताउन थालिएको छ । विवाद बढेपछि असन्तुष्ट पक्षले पार्टी अध्यक्षलाई कार्यसम्पादन समितिको बैठक बोलाउन माग पनि गरेको छ ।
राप्रपा कार्यसम्पादन समितिमा अध्यक्ष राजेन्द्र लिङ्देनको पक्षमा ४१ सदस्य र असन्तुष्ट समूहको नेतृत्वगर्दै आएका महामन्त्री राणासँग ११ सदस्य रहेको बताइन्छ । सो पार्टीको विधानअनुसार कम्तीमा १७ जना सदस्यले कार्यसम्पादन समितिको बैठक मागगर्न सक्ने ब्यवस्था छ । असन्तुष्ट पक्षले मागगर्दैमा अध्यक्षले बैठक बोलाउने अवस्था नभएको पनि बताउन थालिएको छ । सो पार्टीमा विवाद बढ्दै गएकाले पुराना तथा त्यागी नेताहरुले राजीनामा दिन थालेका छन् । नवराज सुवेदीको जिम्मेवारी खोसिनु, प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई हटाइनु, अध्यक्ष लिङ्देनका स्वकीय सचिवले कार्यकर्तामाथि अभद्र व्यवहारगर्नु बिवाद निम्तिनुका मुख्यकारण मानिएका छन् ।
राप्रपाभित्र विवाद बढेपछि केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले राजीनामा दिनुभएको छ । सुवेदीले विगतमा सम्हालेको पार्टी अनुशासन समिति संयोजकको जिम्मेवारी अध्यक्ष लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई दिएपछि सुवेदी निर्वाचन आयोगको ढोका ढकढक्याउनसमेत पुग्नुभएको थियो । डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय राणा र कुन्ती शाहीले अध्यक्ष लिङ्देनले विधानविपरीत सुवेदीलाई अनुशासन आयागको संयोजकबाट हटाएकोभन्दै सार्वजनिक विज्ञप्तिमार्फत विरोध गरिसक्नु भएको छ ।