काठमाडौं,२२ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ १५–१६ गते (अगष्ट ३१–सेप्टेम्बर १) चीन भ्रमणमा जाने हुनुभएको छ । सो भ्रमणमा नेपालका बारेमा समेत छलफल हुने संभावना देखिएको छ । प्रधानमन्त्री मोदी तियान्जिन शहरमा आयोजना हुने शांघाई सहयोग संगठन (एससीओ) को क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन चीन जाने हुनुभएको हो । उहाँको चीन भ्रमणलाई सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भएको भारत–चीन सीमाविवादपछिको पहिलो उच्चस्तरीय भ्रमणकारुपमा लिइएको छ । गलवान झडपपछि द्विपक्षीय सम्बन्धमा आएको चिसोपनलाई सहज बनाउने प्रयासस्वरुप प्रधानमन्त्री मोदीको चीन भ्रमण हुनलागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

उक्त शिखर सम्मेलनमा एससीओ सदस्य राष्ट्रबीच क्षेत्रीय सुरक्षासम्बन्धी सहकार्य, आर्थिक साझेदारी र आतंकवाद विरुद्धको साझा रणनीतिबारे छलफल हुनेभनिएको छ । भारत र चीन दुवै एससीओका स्थायी सदस्य राष्ट्र हुन् र पछिल्लो समय दुवै देशले सम्बन्ध सुधारका लागि कूटनीतिक पहललाई प्राथमिकता पनि दिइरहेका छन् । मोदीको चीन भ्रमणबाट छिमेकी दुई देशबीचको विश्वास, सीमाविवाद समाधानका प्रयास र बहुपक्षीय मञ्चमार्फत क्षेत्रीय स्थायित्वका सवालमा सहकार्य विस्तारगर्ने सम्भावना बलियो बनाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भ्रमणलाई भारतीय विदेश मन्त्रालयले सद्भाव, संवाद र सहकार्यका लागि अवसरकारुपमा व्याख्या गरेको छभने चिनियाँ पक्षले पनि सकारात्मक संकेतकारुपमा स्वागत गरेको छ । भारतीय प्रधानमन्त्रि मोदीको चीन भ्रमणको मुख्य एजेडानै नेपालमा बढ्दो अमेरिकी गतिबिधि हुने धेरैले आंकलन गरेका छन् ।