लण्डन, २५ साउन । बेलायत सरकारले गत महिना आतंकवाद विरोधी कानून अन्तर्गत प्यालेष्टाइनलाई प्रतिबन्ध लगाएपछि यस प्यालेष्टाइन एक्सन नामक प्यालेष्टिनी समूहलाई समर्थनगर्ने पछिल्लो र सबैभन्दा ठूलो विरोध प्रदर्शनका क्रममा लण्डनको प्रहरीले हिजो शनिबार कम्तीमा २०० जनालाई पक्राउ गरेको छ। बेलायतको राजधानी लण्डनको महानगरीय प्रहरीले पार्लियामेन्ट स्क्वायरमा भएको प्रदर्शनमा थप व्यक्ति पक्राउ पर्ने अपेक्षा गरेको छ, किनकि आयोजकहरुले सयौँमध्ये केहीलाई मात्र हिरासतमा लिइएको दाबी गरेका छन्। महानगरीय प्रहरी विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ–त्यहाँ उपस्थित भएर प्रदर्शन हेरिरहेका केही व्यक्तिहरु पनि प्यालेष्टाइन एक्सनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका भन्ने समाचार सत्य होइन।

उनीहरु सबै प्रदर्शनकारी थिए। विज्ञप्तिमा भनिएको छ–हामीलाई विश्वास छ, हिजो प्यालेष्टाइन एक्सनको समर्थन मा प्लेकार्ड लिन ‘पार्लियामेन्ट स्क्वायर’मा आएका जो कोही लाई कि गिरफ्तार गरिएको छ वा उनीहरु गिरफ्तार हुने प्रक्रियामा छन्। दक्षिणी इङ्ल्यान्डको एक वायु सेनाको बेसमा आक्रमण गरी दुई वटा विमानमा ७० लाख पाउन्ड (९३ लाख अमेरिकी डलर) को क्षति पु¥याएको केही दिनपछि सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको थियो। बेलायतको गृह मन्त्रालयले शनिबारको विरोध प्रदर्शनअघि आफ्ना सुरक्षा सदस्यहरुलाई अन्य गम्भीर आक्रमणहरुमा पनि उक्त समूहको संलग्नता रहेको बताएको थियो जसमा ‘हिंसा, महत्वपूर्ण चोटपटक र व्यापक आपराधिक क्षति’ भएको उल्लेख थियो। संयुक्त राष्ट्रसंघ, एम्नेस्टी इन्टरनेसनल र ग्रिनपिसजस्ता गैरसरकारी संस्थाहरुलगायत आलोचकहरुले यो कदमलाई कानूनी अतिक्रमण र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा आलोचना गरेका छन्। रासस÷एएफपी