काठमाडौं, २७ साउन । विश्वमै जलबायु संकट बढ्दै गएको छभने अन्तरदेशीय सहकार्यमा जोड दिन थालिएको छ । नेपाल वातावरण पत्रकार समूहले हिजो काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा विज्ञहरुले जलवायु संकटले निम्त्याउने जोखिम र हानी घटाउन सीमापार पूर्वसूचना सम्प्रेषण प्रणाली अपरिहार्य रहेको धारणा राख्नुभएको थियो । उहाँहरुले अन्तरदेशीय सूचना सम्प्रेषण र अन्तरनिकाय समन्वय नहुँदा जलवायुजन्य प्रकोपले जनधनको क्षति बढाइरहेको बताउनुभएको थियो । कार्यक्रममा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का जलवायु र वातावरण विभाग प्रमुख डा. चाङ छ्याङकोङले जलवायुजन्य घटना सम्बोधन गर्न अध्ययन अनुसन्धान जरुरी रहेको बताउनुभएको थियो ।

विकसित देशहरुले अल्पविकसित देशलाई प्रविधि र ज्ञान हस्तान्तरण गरेमा पर्वतीय देशहरुले लाभ प्राप्तगर्ने उहाँको भनाइ थियो । जलवायुविज्ञ डा धर्म उप्रेतीले बहुप्रकोपका घटना बढिरहँदा नेपाल एक्लैले समस्या समाधानगर्न नसक्नेभन्दै अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताउनुभएको थियो । भारत र चीनमा भइरहेका जलवायुजन्य घटना नेपालका लागि सिकाइ हुनसक्ने बताउँदै उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धिले क्षतिका घटना बढेर जाने खतरा रहेकोे उल्लेख गर्नुभएको थियो । हिमबाढी अध्येता श्रीकमल द्विवेदीले जलवायु जोखिमका घटना न्यूनीकरणगर्न नेपालले आफ्नो क्षमता वृद्धि गर्नुपर्नेमा जोडदिँदै हिमताल फुटेर मात्रै हिमबाढी नहुने भएकाले यसतर्फको अध्ययन बढाउनुपर्ने खाँचो आँैल्याउनुभयो । जलवायुजन्य बहुप्रकोपका घटना हुन नदिन र क्षति न्यूनीकरण गर्न विशेष निकाय स्थापना गर्नुपर्ने बताउँदै उहाँले हिमबाढीको क्षति आँकलन हुन नसक्दा विकासका आयोजनामा असर हुनथालेको चर्चा गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वातावरण निरीक्षक रिना चौधरीले जोखिम न्यूनीकरण र घटनापछिको अवस्थामा सहजीकरण गर्न प्राधिकरण क्रियाशील रहेको बताउनुभएको थियो । समन्वयकारी निकाय भएकाले प्राधिकरणले सोहीअनुसार काम गरिरहेको जानकारी गराउनुभउको थियो । समूहका पूर्वअध्यक्ष कसमस विश्वकर्मा र वातावरणविद् डा विनोद भट्टले प्रकोप न्यूनीकरणका घटनामा पत्रकार र सञ्चार माध्यमलाई समयसापेक्ष तालिम, कार्यशाला र अनुशिक्षण आवश्यक रहेको सुझाव दिनुभएको थियो ।