काठमाडौं, २७ साउन । देशका बिभिन्न स्थानमा डेंगुको संक्रमणमा बृद्धि भएको थाहा भएको छ । यसैक्रममा प्राप्त एक समाचारअनुसार पछिल्ला दुई सातामा कास्कीको पोखरा महानगरपालिकामा १२९ जना डेंगुको संक्रमणका बिरामी थपिएका छन् । गत १० गतेसम्ममा ३०३ जनामा डेंगु संक्रमण पुष्टि भएकोमा गत आइतबार उक्त संख्या वृद्धि भइ ४३२ पुगेको थाहा भएको छ । जुन यस बर्ष गण्डकी प्रदेशभरमा पुष्टि भएका संक्रमितमध्ये आधाभन्दा बढी संख्या हो । प्रदेशको स्वास्थ्य मन्त्रालयकाअनुसार गत पुसयता मनाङबाहेक प्रदेशका १० जिल्लामा कूल ८११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पोखरा गतबर्ष पनि डेंगुको हटस्पट बनेको थियो । गतबर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेंगु संक्रमण भएको थियो । डेंगु संक्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेंगु संक्रमणको जोखिम उच्च रहने भएकाले आगामी दिनमा संक्रणको दर बढ्नसक्ने अनुमान गरिएको छ ।

गत बर्षजस्तो संक्रमण व्यापक हुननदिन उच्च सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेंगु संक्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा रहेको बताउनुभयो । वर्षायाम शुरु भएपछि डेंगु संक्रमणको दर बढ्दैगएको हो । गण्डकी प्रदेशमा हालसम्म सबैभन्दा बढी कास्कीमा ४४१, तनहुँमा १२०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एकजनामा डेंगु संक्रमण पुष्टि भएको हो । कास्कीमा संक्रमण पुष्टि भएका ४४१ मध्ये ४३२ जना पोखरा महानगरपालिकाका हुन् । पोखरा महानगरलगायत प्रदेशका स्थानीय तहहरुले समुदायस्तरमा डेंगु फैलनबाट रोक्न डेंगु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्टगर्ने अभियान सञ्चालन गरिरहेका छन् । उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।