पाकिस्तान, २८ साउन । पाकिस्तानको बलोचिस्तान प्रान्तमा गत सोमबार भएको विद्रोही आक्रमणमा नौ जना सैनिकको ज्यान गएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । एएफपीका अनुसार घटना वाशुक जिल्लाको बसीमा क्षेत्रमा भएको हो, जहाँ दर्जनौँ सशस्त्र विद्रोहीहरुले प्रहरी चौकी र सीमा सुरक्षा बलको भवनमा आक्रमण गरेका थिए । आक्रमणकारीहरु मोटरसाइकलमा सवारभई आएका थिए र उनीहरुले हातहत्थियार तथा बमको प्रयोग गरेर भवनहरुमा तोडफोड गरेका थिए । एक स्थानीय अधिकारीकाअनुसार सैनिकहरु जब आक्रमणस्थलतर्फ जाँदै थिए, त्यहीबेला विद्रोहीहरुले उनीहरुलाई लक्षित गरी आक्रमण गरेका थिए, जसमा नौजना सैनिकको मृत्यु भयो । यस घटनामा थप छजना सैनिक घाइते भएका छन् । हालसम्म कसैले आक्रमणको जिम्मा लिएको छैन, तर बलोचिस्तानमा बलोच मुक्ति सेना सबैभन्दा सक्रिय सशस्त्र समूह हो, जसले पछिल्लो समय धेरै आक्रमणहरु गरेको छ ।
यही दिन, अमेरिकाले बलोच मुक्ति सेनालाई विदेशी आतंककारी समूहको सूचीमा राखेको घोषणा गरेको छ । यसअघि उक्त समूहलाई कम कठोर सूचीमा राखिएको थियो, तर पछिल्लो आक्रमणहरुका कारण प्रतिबन्ध कडा बनाइएको हो । मानव अधिकारकर्मी र बलोच पृथकतावादीहरुको भनाइमा, पाकिस्तानी सुरक्षाकर्मीहरुले विद्रोह नियन्त्रण गर्नेक्रममा जबरजस्ती बेपत्ता पार्ने र गैरन्यायिक हत्यागर्ने कार्यहरु गर्दैआएका छन्, जसले स्थिति अझ जटिल बनाएको छ ।