रोम, २९ साउन । इटालीको लाम्पेदुसा टापुको नजिक हिजो बुधबार समुद्रमा एक डुंगा पल्टिँदा कम्तीमा २० जना आप्रवासीले ज्यान गुमाएका छन्भने धेरैजना अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर ) ले जनाएको छ । यो दर्दनाक घटना भूमध्यसागरको केन्द्रीय मार्गमा भएको हो, जहाँ विशेषगरी गर्मी याममा यूरोप पुग्ने आशामा धेरै आप्रवासीहरु अत्यधिक भीड भएका वा जीर्ण डुंगामा यात्रागर्ने गर्छन् । यूएनएचसीआरका प्रवक्ता फिलिपो उङ्गारोले सामाजिक सञ्जालमार्फत जानकारीदिँदै लाम्पेदुसा नजिक फेरि एकपटक यस्तो पीडादायक दुर्घटना भएको छ । हालसम्म २० शव फेला परिसकेको र झण्डै यतिनै संख्यामा मानिसहरु अझै हराइरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ भन्नुभयो । इटालीका गृहमन्त्री मातेओ पियान्तेदोसीले पनि यो घटना पुष्टि गर्दै उक्त डुंगा लाम्पेदुसाबाट १४ नौटिकल माइल टाढा दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । प्राप्त विवरणअनुसार, उक्त डुंगामा जम्मा ९७ जना आप्रवासी सवार थिए । इटालीको समाचार संस्था अन्साले जनाएअनुसार, मृतकमध्ये एक नवजात शिशु, तीन बालबालिका, दुई महिला र दुई पुरुष रहेका छन्, जसको शवलाई लाम्पेदुसा स्थित शवगृहमा लगिएको छ ।
उद्धार भएकाहरुका अनुसार, मंगलबार साँझ लिबियाको त्रिपोलीबाट दुईवटा डुंगा प्रस्थान गरेका थिए । तीमध्ये एक डुंगा डुब्न थालेपछि त्यसमा रहेका केही यात्रुहरु अर्को डुंगामा सरेका थिए । अत्यधिक भारका कारण त्यो डुंगा पनि डुब्न थालेको हो । लाम्पेदुसास्थित आप्रवासी आश्रय केन्द्रकी सह–निर्देशक क्रिस्टिना पाल्माका अनुसार, हालसम्म ६० जना जीवित उद्धार गरिएकालाई सो केन्द्रमा लगिएको छ । सम्बन्धित अधिकारीहरुका अनुसार, समुद्रमा आप्रवासीहरु संकटमा परेका देखेर इटालीको अर्थसम्बन्धी सुरक्षानिकायको विमानले उद्धारको सूचना दिएको थियो । यूएनएचसीआरले दिएको जानकारीअनुसार, चालु वर्षको आरम्भदेखि हालसम्म भूमध्यसागरको केन्द्रीय मार्गमा ६७५ जना आप्रवासीले ज्यान गुमाइसकेका छन् । इटालीको गृहमन्त्रालयका अनुसार, यस वर्ष अहिलेसम्म ३८ हजारभन्दा बढी आप्रवासी इटालीको समुद्री किनारमा पुगेका छन् ।
गृहमन्त्री पियान्तेदोसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै भन्नुभयो–यस्ता जोखिमपूर्ण समुद्री यात्राहरुलाई प्रस्थानस्थलमै रोक्न आवश्यक छ, साथै मानव तस्करीमा संलग्न निर्दयी समूहहरुको विरुद्धमा कडा कारबाही गर्नुपर्छ । प्रधानमन्त्री श्रीमती जियोर्जिया मेलोनी नेतृत्वको सरकारद्वारा उत्तर अफ्रिकी मुलुकहरुसँग सहकार्य गरी आप्रवासन नियन्त्रणका लागि सहयोगस्वरुप तालीम तथा आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ । रासस, एएफपी